समाचार विश्लेषण : स्पष्टीकरणको खेलले फुट्ला जसपा ?

डीएन पथिक,

विराटनगर । मुलुकको विकसित राजनीतिक घट्नाक्रमले के जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको हो ? जसपाका अध्यक्षद्धय विच चलिरहेको स्पष्टिकरणको खेलले जसपालाई चिरा पारेरै छोड्छ ? या अध्यक्षद्धयको भूमिकाले दुवै हातमा लड्डु पार्ने प्रयत्न हो ? अहिले धेरैको चासोको बिषय बनेको छ ।

पछिल्लो राजनितिक परिदृष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत दिने या उनको सरकार टिकाउने वा गिराउने खेलमा जसपा भित्र दुई मत देखिए । मत विभाजन मात्र नभई विकसित परिवेशमा पार्टीभित्र पनि बहुमत र शक्तिको प्रदर्शन शुरु भयो । जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो केपी ओलीलाई समर्थन गर्न लाग्नुभयो भने अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई प्रतिपक्षी गठबन्धन तिर नजिकिदै ओली सरकार जसरी पनि ढाल्ने योजनामा सरिक हुनुभयो । फलत अहिले अध्यक्षद्धय बिच एक अर्कालाई स्पष्टिकरण सोध्ने काम भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन सघाएको भन्दै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरलगायत ४ नेतालाई स्पष्टीकरण सोध्नु भयो । उहाँले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक रहेको भन्दै वर्तमान सरकारलाई समर्थन गर्नु उपयुक्त नहुने तर्क समेत गर्दै आउनुभएको छ ।

स्पष्टिकरणको प्रत्युत्तरमा अध्यक्ष ठाकुरले पनि यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधनमन्त्री बनाउन किन सघाएको भन्दै स्पष्टीकरण सोध्नुभयो । अझ उहाँले यादवलाई जेठ ८ र ९ गते स्थगित पार्टीको बैठक के कारणले बोलाएर एकल अध्यक्षतामा गरी पार्टी हित विपरित निर्णय गरेको भन्ने प्रश्न गर्नुभएको छ । उहाँले मधेश आन्दोलनका माग पूरा गराउन र बन्दी रिहाई तथा अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन, नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले गठित कार्यदलले गरेका कामले तपाईलाई कहाँ ठेस पुग्यो भन्ने कडा प्रश्न पनि यादवलाई गर्नुभएको छ । उहाँले सर्वोच्च अदालतमा पार्टी निर्णय विपरित रिट लिएर गएकोलगायतका विषयमा यादवसँग स्पष्टीकरण माग्नु भएको छ ।

यसरी मधेश र मधेशी जनताको लागि भन्दै राजनिति गर्दै आएका जसपाका अध्यक्षद्धयको पछिल्लो भूमिकाले जनता पनि विभिाजित हुन पुगेका छन् । मधेसी नेता भएको तर मधेसी राजनीति गजेन्द्र नारायण सिंहसँगै अस्ताइसकेको परिदृष्यमा मधेसीको अधिकार प्राप्तीको मुद्दा बोकेर अघि बढ्नु भएका उपेन्द्र यादवको पछिल्लो भूमिकाले उहाँको जनमतलाई कमजोर बनाउँदै लगेको छ । मधेशका मुद्धा सम्बोधनको चरणमा रहेका बेला वर्तमान सरकारका विरुद्ध लाग्नु अनुपयुक्त रहेको अध्यक्ष ठाकुरहरुको तर्क छ । बन्दीहरुको रिहाई, नागरिकता विधेयक पारितलगायतका मुद्धाहरु जसपाले उठाउँदै आएको थियो । तीनै माग पूरा गर्दै केपी ओली सरकारले कार्यान्वयनमा चरणमा पु¥याएका बेला विपक्षी गठबन्धनका पछि लाग्न नहुने उहाँहरुको बुझाई छ । त्यसैले यतिबेला जसपा भित्रका अध्यक्ष ठाकुर, जसपाका बरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेता एकठाउँ उभिनु भएको छ ।

अर्को तर्फ प्रधानमन्त्री स्वेच्छाचारी बन्दै गएको, लोकतन्त्रलाई नै धरापमा पार्ने काम गरिरहेको आरोप लगाउँदै जसपाका अध्यक्ष उपेन्द्र यादवहरु वर्तमान सरकारलाई कुनै हालतमा सहयोग गर्न नहुने अडानमा हुनुहुन्छ । त्यसकालागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका गठबन्धन नजिक पुग्नुभएका उहाँहरु प्रतिपक्षीले गर्ने विरोधको समर्थन गर्न बाध्य हुनुपरेको छ । फलस्वरुप आफ्नै पार्टीले राखेका माग पुराहुँदा त्यसकै विरोधी बन्न पुग्नुभएको छ । प्रभानमन्त्री ओलीले संविधान नै मास्न खोजेको भन्ने निष्कर्षमा पुग्नुभएका उहाँहरु संविधान बचाउन सके मात्र एजेण्डाहरु स्थापित हुने निष्कर्षमा पुगेको देखिन्छ ।

यता जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका छोराछोरीहरुले नागरिकता पाउनबाट बञ्चित रहेको अवस्थामा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग गरेको सहमति र सहकार्यलाई समर्थन गर्ने जनताको ठूलो जमात देखिएको छ । प्रदेश २ को राजधानीमा आफ्नै पार्टीका नेताको पुत्ला दहन गर्दै भएको प्रदर्शनले समेत यसको पुष्टि गर्ने विश्लेषकहरु बताउछन् ।

अर्का तर्फ यादवले मधेसी, मुस्लिम, आदिवासी, जनजातिलगायत शोषित उत्पिडित वर्गका सवालको स्थायी समाधानकालागि लिएको कदमको प्रशंसा पनि केहिले गर्ने गरेका छन् । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै अघि बढ्नु नै उपयुक्त हुने तर्क उनीहरुको छ ।

मधेश र मधेशी जनताको सवालमा दुवै नेताले खेलेको भूमिकाले मुलुकमा पछाडिपारिएका समुदायलाई घाटा नहुने अधिकारकर्मीहरुको भनाई छ । अझ कतिपयको बुझाईमा भने जसपाको दुवै हातमा लड्डु भएझै बार्गेनिङ शक्ति बढेको छ । यतिबेला जसपा भित्रको मतान्तरले वर्तमान सरकार र प्रतिपक्षी दुवैको नजरमा जसपा निर्णायक बिन्दुमा पुगेको छ । तर यसलाई सहि प्रयोग नगर्दा र ‘इगो’ बढ्दै जाँदा जसपा चिरा पर्ने त हैन भन्ने चिन्ता जनतामा देखिन थालेको छ । मधेसी, मुस्लिम, आदिवासी, जनजातिलगायत शोषित उत्पिडित वर्गका सवालको समाधान गर्ने संघर्षको बलिदानीलाई जसपाको फुटले चुकाउनु पर्ने त हैन भन्ने चिन्ता तीनै शोषित पिडित वर्गमा देखिन्छ ।

जसपा नफुटेसम्म मुलुक निर्वाचनमा नजाने टिप्पणी गर्नेहरुको समूह पनि राजनीतिक वृत्तमा ठूलै छ । अहिलेको अवस्थालाई हेर्ने हो भने जसपाको फुट र ओली कमजोर नहुञ्जेल आउँदो निर्वाचनमा कांग्रेस उक्सिने अवस्था छैन । कांग्रेसका साथै क्षेत्रीय पार्टी कमजोर नहुञ्जेल ओली नेतृत्वको एमाले बलियो बन्ने सम्भावना पनि छैन । यही परिदृष्यमा मजबुतको साथ नलागी माओवादीलाई पनि आउँदो निर्वाचनमा आफ्नो बलियो ‘पोजिसन’ बनाउन मुस्किल छ । यस्तो बेला जसपा एकजुट भइरहे मुलुकको निर्णायक शक्ती बन्ने निश्चित रहेको तर्क राजनितिक बिश्लेकषकहरुको बुझाई छ । मुलुकमा मधेसबाटै क्षेत्रीय पार्टीको अभ्यास सुरु भएको छ । अहिले क्षेत्रीय पार्टी मुलुकको राजनीतिमा निर्णायक बनेको अवस्थालाई निर्णयकर्तामा परिणत गर्ने वेलामा फुटको संघारमा पुग्नु जसपाका लागि दुर्भाग्यपूर्ण बाहेक केहि हुने छैन ।

यता जसपाका अध्यक्षद्धयप्रति पनि अलग अलग ढंगले कार्यकर्तामा बुझाइ छ । अध्यक्ष यादव आन्दोलनलाई अवसरका रुपमा लिँदै राजनीतिक उचाइ प्राप्त गर्दै आएका नेता हुन् भने अर्का अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतो समर्पणवादी भएर अघि बढेका हुन् भन्ने बुझाई उनीहरुमा छ । जसपाका आम कार्यकर्ता भने यतिबेला पार्टी फुटेर नभई जुटेर अघि बढेको हेर्न चाहन्छन् । दुबै नेताले आ–आफ्ना भूमिकालाई मुल्यांकन गर्दै जसपालाई फुट्नबाट जोगाउन् भन्ने चाहना पार्टीभित्र आस्था राख्नेहरुको पाइन्छ । अनेक प्रयास र संघर्षबाट निर्माण भएको जसपा एकढिक्का हुन सके मात्र समग्र शोषित पिडित वर्गलाई हित हुने उनीहरुको बुझाई छ । यद्यपी सत्तालाई समर्थन र विरोध गर्ने दुई कित्तामा विभाजन भएको जसपालाई अध्यक्षद्धयकै हठले टुक्र्याउला वा एकता कायम रहन सक्छ त्यो त समयले देखाउला ।

Back to top button