विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ राम्रो तर चुनौतीपूर्ण : नेपाल चेम्वर अफ कमर्श

विराटनगर । प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो भएपनि चुनौतीपूर्ण रहेको नेपाल चेम्वर अफ कमर्शले बताएको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईलाई भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणाको प्रशंसा गरेको छ । यद्यपी कार्यान्वयनमा चुनौतीपूर्ण रहेको समेत बताएको छ ।

चेम्वर अफ कमर्शका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अवधारणा राम्रो भएपनि चुनौतिपूण रहेको बताउनुभयो । उहाँले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’बारे लक्षित वर्ग समक्ष जानकारी दिन आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य वीमा पनि लक्षित वर्गसम्म पुग्न नसकेको दृष्टान्त दिँदै उहाँले स्वास्थ्य वीमाको लाभ हुनेखानेहरुले मात्र लिईरहेको बताउनुभयो ।

उहाँले मन्त्री राईलाई सूचीकरण गरेर कार्यक्रम गर्दा राम्रो हुने सुझाव दिनुभयो । अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रचार प्रसारका लागि सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

चेम्वर अफ कमर्श विराटनगरका कार्यवहाक अध्यक्ष सुरेन्द्र गोल्छाले विपन्न वर्गले थाहा पाउने गरिको एप्स निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो राम्रो काम भएकाले एप्स निर्माणमा सहकार्य गर्न समेत तयार रहेको बताउनुभयो ।

विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताउनुभयो । उहाँले लक्षित वर्गले थाहा पाउने गरि कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्न सकिने गरि अवधारणा तय गरिएको मन्त्री राईले बताउनुभयो । गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उहाँले बताउनुभयो ।

Back to top button