न्यायलयलाई प्रभावमा पारेर सत्ता कब्जा गर्ने षडयन्त्रमा प्रधानमन्त्री : नेता कोइराला

डीएन पथिक,

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावमा पारेर सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ । कोइराला निवासमा बिहीबार पत्रकारसँगको कुराकानीमा कोइरालाले सत्ताकब्जा गर्ने उद्धेश्यकै कारण मिडियालाई पनि दबाउने खेल सुरु भएको बताउनुभएको हो ।

पछिल्लो पटक सर्वोच्च अदालतलाई प्रभावमा पार्ने र मिडियालाई दबाबमा पार्ने षडयन्त्रकै उपज सर्वोच्च अदालतले पत्रकारलाई केराकार गरेको उहाँको तर्क छ । उहाँले भन्नुभयो ‘सम्पति शुद्धिकरण, राजश्व न्यायाधिकरण, गैर सरकारी संघ संस्थाको अनुगमनलगायतका अधिकार आफ्नै मातहतमा राखिसक्नुभएका प्रधानमन्त्रीले विधेयकमार्फत संवैधानिक निकायहरु नियन्त्रण गरिसकेको बताउनुभयो ।

नेता कोइरालाले प्रधानमन्त्रीले न्यायालय र मिडिया प्रभावमा पार्न सके सत्ता कब्जा गर्न सफल हुने खतरा बढेकोले सचेत हुनुपर्नेमा जोड दिनुभयो । न्यायालय प्रभावमा परेको अवस्थामा प्रतिनिधिसभा पुनस्र्थापना हुन नसक्ने भन्दै उहाँले सर्वोच्च अदालतप्रतिको जनताको विश्वास कायम राख्ने दायित्व यतिबेला न्यायमुर्तिको हातमा पुगेको बताउनुभयो ।

प्रतिनिधिसभा पुर्नस्थापना नभए मुलुक निर्वाचनमा जाने तर सर्वसत्तावादतर्फ उन्मुख ओली जीको नेतृत्वमा निष्पक्ष निर्वाचनको परिकल्पना गर्न नसकिने उहाँले टीप्पणी गर्नुभयो । अझ कोरोना महामारीका बेला तोकिएको समयमा निर्वाचन हुन नसक्ने भन्दै त्यसले मुलुकलाई थप संवैधानिक संकटमा पुर्‍याउने र मुलुक गम्भिर द्वन्द्वमा फस्ने चिन्ता ब्यक्त गर्नुभयो ।

यस्तै नेता कोइरालाले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी विधेयक ल्याएर प्रमुख जिल्ला अधिकारीहरुलाई २–४ जनाले कुनैपनि गतिविधि गर्दापनि १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय गर्ने अधिकार दिनु गलत भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको सत्ता कब्जा गरेरै देश चलाउन खोज्ने षडयन्त्रलाई निस्तेज पार्न सबै एकजुट हुनुपर्नेमा जोड उहाँको जोड छ । नागरिकता सम्बन्धि विधेयक संवैधानिक व्यवस्था अनुसार निर्माण हुँदा ठिक भएपनि गलत प्रकृयाबाट आएको भन्दै नेता कोइरालाले उक्त विधेयक संसदबाट पारित नभए के हुन्छ भन्ने विषयमा सोच्नुपर्ने बताउनुभयो ।

Back to top button