सरकारले कोरोनालाई प्राथमिकतामा राखेर १६ खर्बको बजेट ल्याउँदै

काठमाडौं । सरकारले कोरोना संक्रमणलाई प्राथमिकतामा राखेर १६ खर्बको बजेट ल्याउन लागेको हो । विपक्षीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नहुने भन्दै दबाब दिइरहेको बेला सरकारले अध्यादेशमार्फत ठूलो आकारको बजेट ल्याउन लागेको हो ।

योजना आयोगले पठाएको सिलिङ र बजेटको अंकगणितका आधारमा १६ खर्बको हाराहारीमा बजेट आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । मध्यकालीन खर्च संरचनाले आर्थिक बर्ष २०७८–०७९ का लागि १६ खर्ब ९७ अर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको १४ खर्ब ७४ अर्बको बजेटमा कोरोना महामारीले राजस्वको स्रोत संकुचित हुने भएपछि ५९ अर्ब बजेटको सिलिङ घटाएकाो छ ।

बजेटको स्रोत व्यवस्थापनका लागि आगामी वर्षको बजेटमा २० प्रतिशत राजस्व वृद्धि गर्ने सरकारी लक्ष्य छ । महेश दाहाल नेतृत्वको राजस्व परामर्श विकास समितिले २० प्रतिशत राजस्व बृद्धि गर्न सकिने आधारहरु सहित प्रतिवेदन पेस गरेको थियो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगले ५ प्रतिशतसम्म आन्तरिक ऋणको सीमा वृद्धि गर्न सरकारलाई अनुमति दिएको छ । जसका आधारमा २ खर्ब ३५ अर्बसम्म विकास खर्चका लागि सरकारले आन्तरिक ऋणका साथै बजेटको स्रोत सुनिश्चिततताका लागि वाह्य ऋण पनि गत वर्षभन्दा बढी उठाउने लक्ष्य लिइएको छ ।

चालू आर्थिक वर्षको बजेटमा राजस्वबाट १० खर्व ५० अर्ब, आन्तरिक तथा वाह्य ऋण मार्फत ५ खर्ब ५० अर्ब, कर तथा गैह्र कर राजस्वमार्फत १० खर्ब १० अर्बको लक्ष्य लिएको मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा चुनाव केन्द्रित लोकप्रिय कार्याक्रमहरुसमेत ल्याउन लागेको छ । वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ता ५ हजारसम्म पुर्‍याउने, कर्मचारीको तलव २० प्रतिशतले बढाउने, उद्योगी व्यवसायीलाई राहत दिने, युवा केन्द्रित लोकप्रिय कार्यक्रमहरु आगामी बजेटमा ल्याउन लागेको हो ।

Back to top button