
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्नुभएको छ । भर्चुअल माध्यमबाट उहाँले ब्यवसायीक प्रयोजनसहितका चार वटा व्लकहरु शिलान्यास गर्नुभएको हो ।
अण्डर ग्राउण्ड पार्किङसहित पाँच तलाका हुने भवनहरुमा एकतलामा सटर बनाइने छ । जम्मा २४ वटा कक्षा कोठा र १४ वटा सटर सहितका भवन बन्ने क्याम्पसले जानकारी दिएको छ । संघीय सरकारको करिब १० करोड रुपैंयाँको लागतमा दमक नगरपालिका मार्फत निर्माण हुन लागेको हो ।
यसैबिच कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिका नाममा विकास निर्माणका कामलाई रोक्न नसकिने बताउनुभएको छ । उहाँले कसैले भन्दैमा जनउत्तरदायी सरकारले जनताको काम गर्न नछाड्ने बताउनुभयो । उहाँले विपक्षीहरुले सरकार लोकप्रिय हुने डरले काम रोक्न भनिरहेको भन्दै सरकारले लोकप्रियताका लागि भन्दा पनि जनताका लागि काम गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार कोरोनाबाट जनतालाई बचाउन अनवरत रुपमा लागेको बताउनुभएको छ । कोरोना विरुद्ध लड्न हरेक व्यक्ति सिपाँही भएकोले यसलाई परास्त गर्न सबैको उस्तै दायित्व हुने भन्दै उहाँले भन्नुभयो,‘ हामी खोप ल्याउछौं र सबै नागरिकलाई खोप उपलब्ध गराउछौं ।’