इराक पुगेको नेपाली फुटबल टोली घरेलु टिमसँग पराजित

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि इराक पुगेको नेपाली फुटबल टोली घरेलु टिमसँग पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति भएको खेलमा इराकसँग ६–२ गोल अन्तरले नेपाल पराजित भएको छ ।

खेलको सातौँ मिनेटमा इराकका आला अब्दुलले सुरुवाती गोल गर्दै घरेलुटोलीलाई अग्रता दिलाउनुभयो । आठौँ मिनेटमा साफा हादीले आत्मघाती गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो ।

डेब्यु खेलको २९औँ मिनेटमा मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलले अग्रता दिलाउनुभयो । खेलको ३९औँ मिनेटमा इराकका मोहम्मद ओबाइदले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काउनुभयो ।

खेलको ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा हुसेनले दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाउनुभयो ।

पहिलो हाफमा चार दुईको अग्रता बनाएको इराकका लागि ६६औं मिनेटमा मोहनाद अली अल्सामरीले गोल गर्नुभयो । त्यसपछि ७५औं मिनेटमा सज्जाद जासिमले अर्को उत्कृष्ट गोल गर्दै इराकलाई ६–२ गोलले जिताउनुभयो ।

पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गर्नुभयो । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उहाँले माफीसमेत माग्नुभयो ।

कुवेती प्रशिक्षक अलमुताइरीले जिम्मेबारी सम्हालेको पहिलो राम्रो नतिजाका लागि केही समय धैर्य गर्न आग्रह गर्नुभयो । ‘आज २ गोल गरेर खुशी मनायौं तर अब धरै खुशी मनाउन केही समय पर्खनुस्, हामी राम्रो गर्छौं । हामी विश्वकप छनोटका लागि तयार हुन्छौं ।’ उहाले भनुभयो ।

‘राम्रो नतिजाका लागि केही समय चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले आज एक अवसर गुमायौं । त्यो गोल भएको भए राम्रो हुन्थ्यो । केही सिल्ली मिस्टेक गर्दा खेल हारिन्छ, हामीलाई केही समय चाहिन्छ । जब हाम्रो लामो ट्रेनिङ हुन्छ हामी राम्रो रिजल्ट ल्याउँछौं ।’

डेब्यू खेलमा गोल गरेका मनिस डाँगीले राम्रो अनुभव हासिल गरेकोले भविष्यमा अझै राम्रो खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Back to top button