समग्रमा बजेट राम्रो छ, अमरडुवा आर्थिक क्षेत्रको अध्ययनका लागि बजेट कम भयो : प्रकाश मुन्दडा

आर्थिक वर्ष २०७८/०७९को लागि सरकारद्धारा प्रस्तुत बजेटका विषयमा कोशी सन्देशसँग मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको दिनुभएको प्रतिकृया जस्ताको त्यस्तै

विराटनगर । समग्रमा बजेट राम्रो छ । स्वास्थ्य र शिक्षालाई अत्यन्तै राम्रो ध्यान दिइएको छ । स्वास्थ्यमा देशलाई आत्मनिर्भर बनाउन विशिष्टिकृत अन्तर्राष्ट्रियस्तरको सुविधाहरु प्रदान गर्ने व्यवस्था बजेटमा गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा क्यान्सर अस्पताल निर्माण गर्न बजेट दिनु समग्रमा प्रदेशलाई स्वास्थ्योपचारमा आत्मनिर्भर बनाउन विशेष ध्यान दिएको छ । यो राम्रो पक्ष हो ।

अर्को ‘स्टार्टअप’ बिजनेश’का लागि २५ लाख रुपैयाँ, १ र ५ प्रतिशत ब्याजदरमा ऋण दिने ब्यवस्था गरिएको छ । त्यो ऋण प्राप्तिका लागि प्रक्रियागत जटिलता भएन र सहज उपलब्धता भयो भने त्यसले मनोबल बढाउँछ । समग्रमा नीजि क्षेत्रलाई बजेटमार्फत सम्बोधन गर्न खोजेको छ ।

भौतिक संरचनाको नाममा सुनसरीको अमरडुवाको नाम पनि पहिलो पटक बजेटमा आएको छ । तर त्यसमा वारकोटमा क्रसबोर्डर इकोनोमी जोनमा आउनुपर्ने स्पेसल रुपमा अध्ययनका लागि जुन बजेट छुट्टयाइएको छ, त्यो कम भएको जस्तो लाग्छ ।

विराटनगरमा प्रदर्शनीस्थलको माग थियो, त्यसलाई पनि सम्बोधन गरिएको छ । विमानस्थलमा नयाँ टर्मिनल बनाउने कुरा पनि आएको छ । यी सवै कुरा राम्रा छन् । कार्यान्वयन महत्वपूर्ण हो ।

व्यवसाय उद्योगको लागि त वातावरण चाहिने हो, अहिले इकोनोमी डाउन छ । त्यसैले यसबाट माथि उकास्न खोप नै महत्वपूर्ण हो । खोपका लागि २६ अर्ब छुट्टयाइएको छ । यदि राज्य गम्भीर भएर २ महिनाभित्र ५०–६० प्रतिशत जनतालाई खोप लगाउन सकियो र बजेट कार्यान्वयन भयो भने देशलाई फाइदा गर्छ । राम्रो बजेट छ ।

महामारीको समयमा बढी अपेक्षा राख्नु नै गलत हुन्छ । अहिले महामारीलाई जित्न कार्यक्रमहरु ल्याउनुपर्ने हो । जुन ल्याएको छ । अब कार्यान्वयन कसरी हुन्छ भन्ने मात्र हो । खोप बाहेक कुनै बिकल्प छैन । खोप लगाइसकेपछि मात्र भौतिक संरचना निर्माण गर्न सहज हुन्छ । उद्योग व्यवसायलाई पनि हित हुन्छ, त्यसैले अहिलेको जोड खोप नै हुनु पर्छ ।

Back to top button