देशका लागि पार्टी भित्रकै नेताबाट अनिष्टको काम भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताउनुभयो ।

राजनीतिक दल र तीनका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

माधवकुमार नेपालप्रति लक्षित हुँदै उहाँले नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको बताउनुभयो । तीनले खाएको सपथ झुटो रहेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘तीनका सपथ बेइमानी हो । सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् ।’

आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको उहाँले टिप्पणी गर्नुभयो । समाजलाई अमर्यादाले एकतावद्ध नबनाउने भन्दै उहाँले बढ्दै गएको अशिष्ट र अराजक गतिविधिविरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।

विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संवैधानिक र कानूनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेकोप्रति प्रधानमन्त्रीको गुनासो छ । उहाँले कतिपयलाई यो कुरा चित्त नबुझेको भन्दै पुरुषप्रधानताको सामन्ती सोचले समेत जकडेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधानलगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्नुभयो । उहाँले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामाजिक परिवर्तनसँगै चेतना वृद्धिमा सहयोग पुर्‍याएको बताउनुभयो ।

महिला हक अधिकार र समानताको आन्दोलन महिलाको मात्रै हो भनेर नठान्न र पुरुषहरुलाई पनि महिलाप्रति सहयोगी, महिला आन्दोलन, आकांक्षा र प्रयासप्रति सहकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गनुर्भयो । पुरुषहरुले सहयोगी भूमिका निर्वाह नगरेसम्म महिला आन्दोलन सफल बनाउन कठिन हुने उहाँको भनाई छ ।

Back to top button