डेढ क्विण्टल गाँजासहित एक जना पक्राउ

सुनसरी । प्रहरीले कोशी गाउँँपालिकास्थित पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणमा रहेको पानीटंकी नजिकबाट १६५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । कोशी गाउँपालिका ८ का ४० वर्षीय गणेश यादव पक्राउ परेको हो ।

जिल्ला प्रहरी सुनसरी र इलाका प्रहरी भण्टाबारीको संयूक्त टोलीले बेवारिसे अवस्थामा प्लास्टिकले बेरिएको ६ वटा बोरा फेला पारेको थियो । बोरा खोलेर हेर्दा तयारी गाँजा रहेको पाइएपछि कसैले राखेको हुन सक्ने भन्दै खोजी गर्ने क्रममा नजिकैबाट यादवलाई पक्रााउ गरिएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

कोरोना महामारीले सीमा सिल रहेको तर खुल्ला सीमानाको फाइदा उठाउँदै यादवले तयारी गाँजा भारततर्फ लग्न सीमा नजिक लगेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गाँजा ओसार पोसारमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने वा भारतीय तस्कर आउने तयारीमा रहेको हुनसक्ने दृष्टिकोणले प्रहरीले अनुसन्धान गरिरहेको छ । यादवलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी सुनसरीले जनाएकाो छ ।

Back to top button