जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा जाने तयारीमा, एक/दुई दिन भित्र निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष वर्तमान सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । आज बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलमा जसपा पनि सरकारमा जाने बिषयमा टुङ्गो लागेको हो । त्यसका लागि भने केहि दिनको समय मागेको बालुवाटारस्रोतले जानकारी दिएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । जसपा अब ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । यद्यपी पार्टीभित्रको विवाद एक/दुई दिन भित्र टुङ्गो लगाएर सरकारमा सहभागी हुने जसपा अध्यक्ष ठाकुर पक्षले बताएको छ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय अध्यक्ष ठाकुर पक्षले लिएको हो । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव भने विपक्षी गठबन्धनमा सामेल हुँदै वर्तमान सरकारमा सहभागि नहुने अडानमा हुनुहुन्छ ।

यीनै अडानका कारण यतिबेला जसपा फुटको संघारमा पुगेको छ । जसपाको संसदीय दलमा अध्यक्ष ठाकुर–र बरिष्ट नेता महतो पक्षको बहुमत छ । उहाँहरुको पक्षमा २० जना सांसद हुनुहुन्छ ।

बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुभएको थियो ।

Back to top button