शव ब्यवस्थापनमा जुट्यो स्काउटको तालिमप्राप्त टोली

विराटनगर । नेपाली सेनाबाट तालिम लिएको स्काउट प्रदेश नम्बर १ का समूहले आजदेखि कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको शव व्यवस्थापन गर्न थालेको छ ।

प्रदेश नम्बर १को राजधानी विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा तालिम प्राप्त स्काउटरहरुको टीमले संस्थागत रुपमा पहिलो पटक शव व्यवस्थापन गरेको हो । सो समूहले कोभिड १९ बाट संक्रमण भई निधन हुनुभएका विराटनगरका ५४ वर्षीय पुरुषको शव परोपकार घाटमा हिन्दु परम्परा अनुशार अन्त्येष्टि गरेको हो ।

यस अघि नै संक्रमितहरुको शव ब्यवस्थापनका निम्ति प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पुर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो ।

स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङ्गेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव ब्यवस्थापन गर्ने तयारी गरेको छ। शव ब्यवस्थापनका लागी खटिएका स्काउट स्वयंसेवकहरुलाई अलग्गै बस्ने ब्यवस्थापन गरीएको पनि घिमिरेले जानकारी दिनुभयो ।

स्काउट प्रदेश समितिले कोभिड– १९ को महामारीलाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यका साथ डाक्टर अन कल हेल्पलाईन सेवा पनि सञ्चालनमा ल्याएको छ ।

Back to top button