आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको परिक्षाफल प्रकाशन गर्ने प्रस्ताव मन्त्रीपरिषदमा पठाइने

काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ । आज मन्त्रालयमा बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो।

गत वर्ष पनि आन्तरिक मुल्याङ्कनकै आधारमा एसईई परिक्षाको परिक्षाफल प्रकाशन गरिएको थियो । विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । यस वर्ष भने परिक्षा लिने अन्तिम तयारी भइरहेका बेला कोभिड–१९ को संक्रमण ब्यापक रुपमा फैलदै गएपछि सरकारले सवै परिक्षाहरु स्थगन गरेको थियो ।

अझै कोभिड–१९ को संक्रमण नियन्त्रणमा आइनसकेको तथा नयाँ नयाँ भेरियन्ट देखापर्न थालेपछि विकल्पका लागि हिजो मात्र राष्ट्रिय परिक्षा बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो । त्यसको भोलीपल्ट नै शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

Back to top button