
विराटनगर । प्रदेश १ मा सिटामोलको अभाव भइरहेको बेला औषधी व्यवसायी संघ मोरङले निःशुल्क बितरण गर्न थालेको छ । संघले आफ्ना सदस्य औषधी पसलमार्फत बिरामीलाई निःशुल्क सिटामोल बितरण सुरु गरेको हो ।
संघका अध्यक्ष लक्ष्मिप्रसाद तिम्सिनाले सिटामोल आभाव भइरहेको बेला संघले आफ्ना सदस्य रहेको औषधी पसल मार्फत विरामीहरूलाई चिकित्सकले सिफारिस गरे अनुसार सिटामोल निःशुल्क बितरणको व्यवस्था गरेको बताउनुभयो ।
विराटनगरको रानीस्थित न्यू आन्नद मेडिकल हल, न्यूरो अस्पताल अगाडिको सृष्टि मेडिकल हल, हस्पिटल चौकको रामकृष्ण फार्मेशी, विराट नर्सिङ्ग ओम अगाडिको जनहित फार्मेशी, पुष्पलालचौकस्थित डिआर फार्मेशीमा ५ सय चक्की सिटामोल सर्वसाधारणलाई निःशुल्क बितरणका लागि हस्तान्तरण गरेको अध्यक्ष तिम्म्सिनाले बताउनुभयो ।
यस्तै, बुढीगंगास्थित विराट मेडिकल कलेज अगाडिको सुप्रिया औषधी पसल, नोबले अगाडिको संस्कृति फार्मेशी, तीनपैनीचौकस्थित जुगनु फार्मेशी र हाटखोला चौकस्थित सुजन फार्मेशीमा संघले सिटामोल हस्तान्तरण गरेको हो ।
‘अहिले सिटामोल नपाएर विरामीका आफन्तहरू भौतारिरहेका छन्,’ संघका अध्यक्ष तिम्सिनाले भने, ‘हामीले केही औषधी जोहो गरेर सामाजिक उतरदायित्व अन्तर्गत विरामीलाई निःशुल्क बितरणका लागि औषधी पसलहरुलाई हस्तान्तरण गरेका छौं ।’