छोडि जानेहरुलाई सम्झेर

 

तारा पराजुली

 

उस्तै छ हिंडेको बाटो
जसरी बग्थ्यो उसैगरी बगेको छ पानी
बदलिएको छैन यावत् रङ्ग
फेरिएको छैन कुनै सुवास
चराहरु उसैगरि गाइरहेका छ्न् नबुझिने गीतहरु
हावा उहीँ गतिमा बहिरह्यो
सुसाउँदै कहिल्यै नथाकिकन
सबै उस्तै छन्
मात्र फरक अनुहार लिएर आएको छ क्रुर समय
अनि लागिरहेछ यी सबै लयहरु बेलयजस्ता।

गमलामा होस् या भीरमा
फुलेकै छ्न् त्यसरी नै मुस्कुराउँदै फुलेपनि
किन किन हिजोजस्ता छैनन् यी फूलहरु पातहरु
पिरमा बाँचेकाहरु रोएकै छन् आँखामा झरी बोकेर
तर खुल्न सकेको छैन खुशीको आकाश
ओसिएको कागज जस्तो
करैले उडेको छ जीवनको चङ्गा
सबै सबै आफ्नै गतिमा चलेकै छन्
तर लाग्छ यो गोलो पृथ्वी पनि यतिबेला
घुम्दाघुम्दै टक्क रोकिएको छ।

कर्ममा विश्वास गर्नेहरु अर्थात्
बेफुर्सदीहरु आफ्नै दिनचर्यामा व्यस्त छन्
डाह गर्नेहरु पुरानै घर छोडेका छैनन्
कुरा काट्नेहरुको बजार चलेकै छ
जे जसरी होस् जिन्दगी त चलाउँनु रहेछ
चलाइरहेछन् आआफ्नै लयमा।

ताराहरु रातमा चम्किएकै छन्
समयमै उदाउन र अस्ताउन भुलेको छैन घाम।
तर किन किन शून्य शून्य लाग्छ यो ब्रह्मण्ड ?
नदीले धार भुलेजस्तो
घामले चुरोट पिएर
तातो धुवाँ उज्यालोमा मिसाएजस्तो
हावाले बेस्सरी मदिरा पिएजस्तो
जुनले रातलाई विषादी घोलेर नुहाइदिएजस्तो
अनि समय आफैँ नाङ्गै नाचिरहेजस्तो
किन यस्तै यस्तै लाग्छ ?

समयको विशाक्त प्रहारले
हरेक दिन छाडिजानेहरुको लाम थपिँदै गएपछि
पटक पटक बेचैन बोकेर हिंड्दै गर्दा
निक्कै मुश्किलले बाँचेको हुँ म पनि
संसारको सबैभन्दा दुखको अनुहार भेटेपछि

एकोहोरो उच्छवासले लखेटिइरहँदा
अग्लो पहराको अन्तिम खण्डको ढुङ्गा हेरेर
बलैले सास फेर्न सिकेको हुँ
र देखेको हुँ निदाउँन नसक्दा पनि
एउटा जीवित सपना।

जब आफ्नै आँखाअघि एकएक गर्दै
आँगनको असिना झैँ बिलाउँदै गए प्रिय मान्छेहरु
शून्य सतहमाथि भत्किएर छिनमै हराउँदै गरेको
बादलको घरजस्तै हराए कतिकति सपनाहरु।

हिसाब गर्न सकिरहेको छैन
हातहरु कापिरहेछन्
कति छोटो समयमै
यतिविघ्न आफन्तहरु छोडिए
कतै मैले बाँच्दैगरेको शहरबाट
कतै हिंडदै गरेको आधा बाटोबाट ।

हेर्दाहेर्दै बोटबाट झर्दैगए
मायाले जोगाएका रङ्गीन फूलहरु
तिनकै सम्झनामा बगिरह्यो जीवन
हर्दम हर्दम आँखाबाट ।

जानेहरुले सबै सबै लिएर गएपनि
किन यति धेरै सम्झनामा आउँछन्
घरीघरी छोडी जानेहरु ?

Back to top button