बजेट श्रमजीवी पत्रकार र मिडिया उद्योगको हितमा : प्रेस चौतारी

काठमाडौं । प्रेस चौतारी नेपालले आर्थिक वर्ष २०७८/०७९ को बजेटको स्वागत गरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले विज्ञप्ति जारी गर्दै आफूहरूले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई इतिहासमा नै पहिलोपटक सहीरूपमा सम्बोधन गरिएको उल्लेख गर्नुभएको छ ।

बजेटले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन, पत्रकारको क्षमता अभिवृद्धिका साथै कारोना महामारीमा परेका श्रमजीवी पत्रकार र सञ्चार उद्योगलाई राहत दिएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

बजेटमा श्रमजीवी पत्रकारको रु सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले बेहोर्ने, साउन १ गतेदेखि नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रका आधारमा देशभरीका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नेलगायतका विषय सुखद भएको बताउनुभएको छ ।

यस्तै सञ्चारग्राम परिसरमा प्रेस सङ्ग्रहालय स्थापना गर्ने, पत्रकार महासङ्घको भवनलाई पूर्णता दिन बजेटको व्यवस्था गर्ने, कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई नवीकरण मिनाहा गर्ने, पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा दिइनेजस्ता सिधै श्रमजीवी पत्रकार र मिडिया उद्योगलाई समेत लाभान्वित हुने उहाँले बताउनुभएको छ ।

बजेटले सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमको न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने व्यवस्था गर्नु सकारात्मक रहेको भन्दै अध्यक्ष बस्नेतले एनटिभी वर्ल्ड सञ्चालन गर्ने, शैक्षिक च्यानल र मौसम च्यानल स्थापना गर्नेजस्ता विषय स्वागतयोग्य भएको उल्लेख गर्नुभएको छ ।

Back to top button