कोशी अस्पतालका अहेबमाथि कुटपिट, दोषिलाई कारवाहि हुने प्रहरीको भनाई

विराटनगर । कोशी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजबंशीलाई प्रहरीले कुटपिट गरेको छ । अस्पतालको काम सकेर राती ९ बजे घर जाँदै गरेको अवस्थामा विराटनगर देवकोटा चोकमा खटिएका प्रहरी टोलीले राजबंशीमाथि कुटपिट गरेको कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताउनुभयो ।

डियूटी सकेर मोटरसाइकलमा घर जाने क्रममा देवकोटा चोकमा प्रहरीले रोक्न लगाई भाटाले कुटपिट गरेको पिडित राजबंशीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ म स्वास्थ्यकर्मी हुँ, डियूटी सकेर घर फर्कदै छु भन्दा पनि दुईजना प्रहरीले कुटपिट गर्नुभयो ।’

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा अवधीभर राती ८ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुलमा रोक लगाइएको छ । तर फ्रन्टलाईनमा खटिनेहरुका लागि अवरोध छैन । प्रहरीको कुटपिटबाट राजबंशीको खुट्टा, घुँडालगायतका शरीरको बिभिन्न भागमा चोट लागेको मेडिकल सुपरिडेन्टेन्ट दासले बताउनुभयो ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले हामी स्वास्थ्यकर्मीलाई उच्च सुरक्षा प्रदान गर्न कृयाशिल रहेको, तर पनि कहिकतै यस्ता घटनाभए दोषिलाई कारवाहि गरिने बताउनुभयो । घटनाको सत्यतथ्य बुझ्न प्रहरी उपरीक्षकको कमाण्डमा टोली खटाएको समेत उहाँले जानकारी दिनुभयो ।

राजबंशीमाथि कुटपिट भएको विरोधमा विहान स्वास्थ्यकर्मीले नाराबाजी सहित विरोध गरेका थिए । लगत्तै जिल्ला प्रहरी प्रमुख र अस्पताल प्रशासनबिच भएको छलफलपछि सहमति जुटेको मेसु दासले बताउनुभएको छ ।

Back to top button