बन्दुकसहित चार जना फरार प्रतिवादी पक्राउ

विराटनगर । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दाका फरार चार प्रतिवादीलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ । केराबारी गाउँपालिका ३ का ४४ वर्षीय डीकबहादुर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपन लिम्बुलाई पक्राउ परेको हो ।

जंगलमा लुकाएर राखेको चार थान भरुवा बन्दुकसमेत बरामद भएको जिल्ला प्रहरी मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो ।

केराबारी ३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा १० जना मिलेर सिकार खेल्न गएको बेला स्थानीय हस्तबहादुर राईलाई गोली हानी हत्या गरेको आरोपमा चारजनालाई नियन्त्रणमा लिएको डिएसपी राईले बताउनुभयो । उक्त घट्नामा सम्लग्न रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई प्रहरीले यसअघि नै  पक्राउ गरिसकेको छ ।

Back to top button