विश्वकप छनौट : चिली र अर्जेन्टीना बराबरीमा

एजेन्सी । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनौटमा चिली र अर्जेन्टिनाले बराबरीमा रोकिएका छन् । १–१ गोलको बराबरी भएपछि दुृवै टीमले अंक बाँडेका हुन् । यो बराबरीले अर्जेन्टिनालाई छनोट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिने अवसर गुमेको छ ।

नेपाली समयअनुसार आज विहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको पेनाल्टी गोलमार्फत २४ औं मिनेटमा अग्रता बनाएको थियो । तर चिलीका सुपरस्टार तथा कुनै समय बार्सिलोनामा मेस्सीका टिममेट रहेका एलेक्सिस सान्चेसले ३६ औं मिनेट गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

त्यसपछि दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो । प्रतियोगिताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले बराबरीपछि ५ खेलबाट ११ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको ब्राजिलको अंक १२ छ उसले एक खेल कम खेलेको छ । यता चिलीको भने ५ खेलबाट ५ अंक भएको छ । चिली छनोट प्रतियोगिताको छैटौं स्थानमा छ ।

दक्षिण अमेरिकाबाट छनोट प्रतियोगितामा १० देशको प्रतिस्पर्धा छ । राउण्ड रोविन प्रतियोगितामा शीर्ष ४ टोलीले सिधै विश्वकप खेल्नेछ भने पाँचौं स्थानमा रहने टोलीले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नेछन् ।

यसअघि आज  नै भएको अर्को खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समान ५ खेलबाट ७ अंकसहित पाराग्वे चौथो र उरुग्वे पाँचौं स्थानमा छन् । अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ३–१ गोलले हराएको छ ।

छनोट प्रतियोगितामा बोलिभियाको यो पहिलो जित हो । ५ खेलबाट बोलिभियाको ४ र भेनेजुएलाको ३ अंक छ ।

Back to top button