सांसदको कारको ठक्करले पैदलयात्री को मृत्यु, एक जना घाइते

विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करले गएराती विराटनगरस्थित एयरपोर्ट रोडमा एक भारतीय नागरिकको मृत्यु भएको छ । एक जना घाइते हुनुहुन्छ ।

भारतको अररिया घर भई विराटनगर ४ स्थित न्यु एभरेष्ट फर्निचर उद्योगमा कार्यरत ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो । सांसद कार्कीले चढ्ने प्रदेश३–०१–००२च २१३९ नम्बरको कारको ठक्करले घाइते पैदलयात्री शर्मालाई उपचारको लागि कोशी अस्पताल लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

कारको ठक्करले शर्मासँगै फर्निचर उद्योगमा कार्यरत कटहरी गाउँपालिका २ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते हुनुभएको छ । उहाँको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सांसद कार्कीका छोरा रोबिन कार्कीले चलाउँदै आएको तिब्र गतिको कारले दुबै जनालाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । कार्कीले दुई जनना केटा र दुई जना केटी साथीसँग एक होटेलमा मादक पदार्थ सेवन गरेर निस्केपछि दुर्घटना भएको स्थानीयको भनाई छ ।

जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले घट्नामा एक जनाको मृत्यु र एक जना घाइते भएकोले अनुसन्धान भइरहेको बताउनुभयो । चालकलगायत कारमा सवार सबै फरार भएकोले खोजी कार्य भइरहेको उहाँले बताउनु भयो ।

Back to top button