डेढ अर्ब भन्दा बढीको धानको बिउ आयात

काठमाडौं । नेपालमा यस वर्ष डेढ अर्ब भन्दा बढीको धानको बिउ आयात भएको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बिउ आयात भएको हो ।

आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बिउहरू आयात गरेका हुन् । केन्द्रका अनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको ४ हजार १ सय ४९ मेट्रिक टन धानको बिउ आयात गरेका हुन् ।

आयात गरिएकामध्ये ३९ वटा जातका बिउ भारत र बाँकी सातवटा जात चीनबाट आयात भएको केन्द्रले जानकारी दिएको छ । आयातका लागि कम्पनीहरूले स्वीकृति लिने तथा धानको बिउ आयात हुने क्रम जारी छ ।

नेपालमा १३ लाख ५० हजार हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई हुने गरेको छ । त्यसका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन धानको बिउ आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

नेपाली बिउ उत्पादक कम्पनीहरूले वार्षिक १० हजार मेट्रिक टन धानको बिउ उत्पादन गर्ने गरेको तथ्यांक छ । कतिपय किसानले आफ्नै स्थानीय बिउ पनि प्रयोग गर्ने गरेका छन् ।

Back to top button