पारिस्थितिक प्रणालीको पुनर्स्थापना आजको आवश्यकता

विराटनगर । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुशियैतले पारिस्थितिक प्रणालीको पुनर्स्थापना हुन नसके भविष्यमा झन् जटिल अवस्था आउनसक्ने बताउनु भएको छ । आज ५ जुन अर्थात विश्व वातावरण दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मानिसका क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण वातावरण बिग्रँदै गएको हुनाले सबै जुटेर यसको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हाल भइरहेका विकासका शैली, मानव जीवन शैली, निर्माण सामग्री आदिको विकल्प नसोचिएमा यसले भविष्यमा ठूलो वातावरणीय क्षति गर्ने हुन्छ, त्यसैले वातावरण सुधार्र्न सबै लाग्नुपर्छ । प्रदेश १मा प्रदेश सरकार नेतृत्व लिन तयार छ ।’

भर्जुअल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. तेजनारायण मण्डलले पारिस्थितिक प्रणालीको पुनर्स्थापना गर्ने कार्यमा आफू दुई दशक अघिदेखि अनुसन्धान गर्दै आएको भएपनि विश्वको आँखा बल्ल खुलेको बताउनु भयो ।

उहाँले बाढी, पहिरोलगायतका प्रकोपबाट बिग्रिएको प्रकृतिलाई कसरी सुधार गर्न सकिन्छ भनेर आफैँले गरेका अनुसन्धानका विवरणहरु प्रस्तुत गर्नुभयो । स्थानीय जातका बोटबिरुवाहरु रोपेर नै खेर गएका जमिनलाई सुधार्न सकिने नजिर समेत उहाँले प्रस्तुत गर्नुभयो ।

नेपाल जोलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा.डा. महेन्द्र महर्जनले प्रकृतिको अभिन्न अंगको रुपमा रहेको जीव जगतलाई संरक्षण गरेर सन्तुलित पारिस्थितिक प्रणाली कायम गर्न सकिएन भने प्रकृति तन्दुरुस्त हुन नसक्ने बताउनुभयो ।

‘नयाँ सोच र सिर्जना, प्रकृतिको पुनर्स्थापना’ भन्ने नाराका साथ मनाइएको यो दिवसका अवसरमा स्नातकोत्तर क्याम्पस, नेपाल जैविक समाज र नेपाल जोलोजिकल सोसाइटीले संयुक्त आयोजना गरेको कार्यक्रममा देश विदेशमा रहेका एक सय ५० जना वैज्ञानिक तथा वातावरण संरक्षणकर्मीहरुको सहभागिता थियो ।

कार्यक्रममा नेपाल जोलोजिकल सोसाइटीका प्रदेश १ अध्यक्ष शालीग्राम अधिकारी, स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, नेपाल जैविक समाजका अध्यक्ष प्रा.डा. शशिनाथ झा, कुलप्रसाद लिम्बू , वातावरण पत्रकार रामचन्द्र अधिकारीलगायतले धारणा राख्नुभएको थियो ।

Back to top button