संसद विघटनसम्बन्धि रिटमा आजदेखि सुनुवाई शुरु हुने

काठमाडौं । सर्वोच्च अदालतमा परेको संसद विघटनसम्बन्धी रिटको सुनुवाइ आजदेखि सुरु हुने भएको छ । इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जेठ १८ गतेको सुनुवाई आजका लागि सार्नुभएको हो ।

यसअघि प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास थियो। तर इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा न्यायाधीश तोकेर संवैधानिक इजलास गठन गरिने बताउनुभएको छ ।

न्यायाधीशद्वय केसी र श्रेष्ठका विषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि विवाद शुरु भएको हो। उनीहरुले इजलास नछाड्ने लिखित जानकारी दिएपछि इजलासबाट न्यायाधीशद्वय डा. भट्टराई र कार्कीले नबस्ने घोषणा गर्नुभएको छ ।

विकसित विवादपछि बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले तत्काल संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन गर्न आवश्यक नभएको निर्णय गरेको छ। वैठकले प्रधानन्यायाधीशले चाहेमा वरिष्ठतम् न्यायाधीशलाई राखेर संवैधानिक इजलास गठन गर्न कुनै बाधा नरहेकाले नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।

अहिले पनि वरिष्ठताका आधारमा इजलास गठन गर्न सकिने पूर्ण बैठकको ठहर छ। तर, भविष्यमा आवश्यकता अनुसार संशोधन गर्नका लागि अध्ययन गर्ने निर्णय भएको एक न्यायाधीशले जानकारी दिनुभएको छ ।

यसअघि सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर वरिष्ठतम् न्यायाधीशको सहभागिता सुनिश्चित हुने ग1री इजलास गठन गर्ने व्यवस्थाका लागि नियमावली संशोधन गर्न सुझाव दिएका थिए। त्यसमा प्रधानन्यायाधीशले सहमति पनि जनाउनुभएको थियो ।

पछिल्लो निर्णयसँगै हाल कायम रोस्टरबाटै संवैधानिक इजलास गठन हुनेछ। अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरापछि दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ रोलक्रममा हुनुहुन्छ ।

Back to top button