
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालबिना भारत सुरक्षित रहन नसक्ने सन्देश दिनुभएको छ ।
उहाँले बीबीसी हिन्दी सेवासँगको संवादमा भारतमा मात्रै कोरोना संक्रमण नियन्त्रण गरेर सुरक्षित हुन नसक्ने बताउनुभयो । उहाँले नेपालमा कोरोना संक्रमण नियन्त्रण नहुञ्जेल भारत सुरक्षित हुन नसक्ने बताउनुभयो ।
भारतले कोरोनाविरुद्धको खोपको प्राथमिकतामा अन्यदेशसँगै नेपाललाई राख्नु उचित नभएको उहाँको भनाई थियो । भारत र नेपालबीचको आफ्नै मौलिक सम्बन्ध रहेकाले अन्य देश जस्तो व्यवहार नगर्न ओलीले आग्रह गर्नुभयो ।
ओलीले भारतसँग यसअघि केही असमझदारी भए पनि पछिल्लो समय सहज भएको बताउनुभयो । असमझदारी छिमेकीसँगै हुने हो जबसम्म हामी छिमेकी रहन्छौं तबसम्म असमझदारी भइरहन्छ तर त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्ने उहाँले तर्क गर्नुभयो ।
उहाँले भविष्य उज्जवल रहेकोले सँगै मिलेर अघि बढ्न भारतीय समकक्षी मोदीलाई आग्रह गर्नुभयो ।