अध्यक्ष र वरिष्ठ नेताको साझा निष्कर्षले पार्टी एकता बचाउन जरुरी छ : योगेश भट्टराई

विराटनगर । नेकपा एमाले भित्रको विवाद बढ्दै एकताप्राय असम्भव जस्तै बनेका बेला दोस्रो पुस्ताका नेताहरु भने पुनः एकताको पहलका लागि जुटेका छन् । हिजो ललितपुरको होटल समिटमा दुवै पक्षका दोस्रो तहका नेताहरुबिच छलफल भएको छ ।

छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपनि वार्ता र छलफललाई निरन्तरता दिने र एकताको लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेका छन् । यहिबिचमा एकताको लागि पहलकदमी लिइरहनुभएका माधव नेपाल समूहका नेता योगेश भट्टराईले एमाले एकताको मुल जड दुवै पार्टीकै शिर्ष दुई नेता रहेको बताउनुभएको छ ।

विहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता भट्टराईले आखिर अहिले भइरहेका गतिविधि कस्ले, केकालागि र किन गर्दैछ भन्ने प्रतिप्रश्न गर्नुभएको छ । उहाँले पार्टीलाई एकताबद्ध बनाउन जुरुरी रहेको भन्दै यसकालागि पार्टीका अध्यक्ष्ँ तथा वरिष्ठ नेताहरुबिचको गम्भिर छलफल र साझा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले स्टाटसमा लेख्नुभएको छ,‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ?’ उहाँले एमाले एकता समस्याको मुल जड यहिँ रहेको बताउनुभएको छ ।

Back to top button