नेपालको नयाँ नक्सा नराख्ने पुस्तक जफत हुने, प्रकाशकलाई कडा कारवाही

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा छापेर बिक्री गरिएका पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ आज सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो ।

केहि निजी प्रकाशनले नयाँ संस्करण उल्लेख भएका पुस्तकमा पनि पुरानै नक्सा प्रकाशन गरेको जानकारी पाएपछि त्यस्ता पुस्तक जफत गर्न र पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न समेत निर्देशन दिनुभएको हो ।

उहाँले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

प्रकाशक र बिक्रेताले बाहिरि गाता मात्र परिवर्तन गरेर पुरानै पुस्तक बिक्रि गरेको गुनासो आइरहेका बेला मन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो,‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस ।’ बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिन सुचिकृत मा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले तत्काल अनुगमन गर्ने र गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउने बताउनुभयो । अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएको समेत बताउनुभएको छ । अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिकेलगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाइ गरेको पाइएको छ ।

 बैठकले विभिन्न विषयका कक्षा ६ देखि ८को पाठयक्रम स्वीकृत गरेको छ ।

Back to top button