‘नीति तथा कार्यक्रममा मुख्यमन्त्री उपस्थित नहुनु सदनप्रतिको उदासिनता’

विराटनगर । प्रदेश १ सभामा आज शुक्रबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा मुख्यमन्त्री शेरधन राई उपस्थित नभएर सदनप्रतिको उदासिनता देखाएको प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले आरोप लगाएका छन् ।

छलफलमा सत्तारुढ दल तथा सरकारको नीति तथा कार्यक्रम भएकोले सशक्त उपस्थिति हुनुपर्नेमा मुख्यमन्त्री राई आफै अनुपस्थित हुनुलाई विपक्षी दलहरुले गैरजिम्मेबारी पूर्ण कार्य भएको भन्दै आलोचना गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नीति तथा कार्यक्रममा मुख्यमन्त्री राई अनुपस्थित भएर नैतिक धरातलसमेत गुमाइसकेको आरोप लगाउनुभएको छ ।

जनता समाजवादी पार्टीका नेता जयराम यादवले नीति तथा कार्यक्रम सरकारले ल्याएको हुँदा मुख्यमन्त्री आफै सदनमा उपस्थित नभई गैरजिम्मेबारपूर्ण चरित्र प्रदर्शन गरेको बताउनुभएको छ ।

‘आफैले टेबल गरेको नीति तथा कार्यक्रममा मुख्यमन्त्री राई अनुपस्थित हुनु भनेको संसदप्रतिको उदासिनता हो,’ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री मात्रै नभई सत्तारुढ दल एमालेका ५१ जना सांसदमध्ये २१ जना मात्रै सदनभित्र उपस्थित भएको र उहाँहरु पनि पालैपालो निस्केर जानुभएको थियो ।’

सत्तारुढ दलले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा सांसदसम्मको अनुपस्थितिले संसदप्रतिको गैरजिम्मेबारीपूर्ण चरित्र उदांगिएको यादवले टिप्पणी गर्नुभयो ।

विपक्षी दल माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार राईले नीति तथा कार्यक्रममा मुख्यमन्त्री राई अनुपस्थित भएर गैरजिम्मेबारीपूर्ण चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभयो ।

कांग्रेसका प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले आफैले टेबल गरेको नीति तथा कार्यक्रमको छलफलमा आर्थिक मामिला मन्त्रीलाई जिम्मा लगाएर अनुपस्थित हुनु मुख्यमन्त्री राईको भयग्रस्त मनस्थितिको उपज भएको बताउनुभयो ।

‘नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्न आफै उपस्थित भएर सुनेर जवाफ दिनु पर्ने संसदीय मर्यादासमेत मुख्यमन्त्री ज्यूले निर्वाह गर्न सक्ने अवस्था रहेन,’ उहाँले भन्नुभयो, ‘सांसदहरुको प्रश्नको डरले मुख्यमन्त्री राई छलफलमा सहभागी नहुनु गलत नजिर बसाइ रहनुभएको छ ।’

Back to top button