प्रदेश १ मा नीति तथा कार्यक्रममाथिको छलफलमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले के के भने ?

विराटनगर । प्रदेश १ सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दलको प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले सरकारको आलोचना गरेका छन् ।

नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले २२६ बुँदाको नीति तथा कार्यक्रममध्ये १० नम्बर बुंदामा कोभिडको विषय समेटिएको उल्लेख गर्दै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर नियमित विद्यालय जाने वातावरण बनाउन जोड दिनुभयो । यस्तै उहाँले धनकुटामा मेडिकल कलेज बनाउने कुरा कहाँ पुग्यो भन्दै मेडिकल कलेज नबनाउने हो भने मुख्यमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो ।

यस्तै जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले ‘आम्दानी प्रयाप्त छैन भने खर्चमा नियन्त्रण गरौं, जानकारी छैन भने शब्दमा नियन्त्रण गरौं’ भन्ने लोकोक्तिलाई आत्मसाथ गर्नुपर्ने बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रममा निरन्तरता दिइनेछ, बन्ने छ भन्ने मात्रै रहेको उल्लेख गर्दै भन्नुभयो, ‘बन्यो भनेर खोई ?’

यादवले प्रदेश सरकारले अहिलेसम्म गरेको छ भने केवल कालो चिल्ला करोडौंको गाडी चढ्ने काम मात्रै गरेको आरोप लगाउनुभयो । सर्वदलीय सरकार गठन गर्न जोड दिनुभएका यादवले अहिले चुरे संरक्षणको कुरा आइरहेको अवस्थामा प्रदेश सरकारले एक शब्द पनि बोल्न नसकेको बताउनुभयो ।

नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने काम शेरधन राई नेतृत्वको सरकारले गर्न नसक्ने भन्दै नेता यादवले भन्नुभाये, ‘यसमा पुनरबिचार गर्रौं, होइन भने परिणाम भयानक हुनसक्छ ।’

माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले आश्वासनको पोको बाड्ने थलोको रुपमा लिएको प्रतिकृया दिनुभयो । उहाँले यो नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न सम्भव नरहेको बताउनुभयो । सरकारले गल्ती नसुधार्ने र विगतकै गल्तीलाई दोहोर्‍याउने गरेको भन्दै नीति तथा कार्यक्रम झट्ट हेर्दा राम्रो लागेपनि कार्यान्वयन हुने किसिमको नभएको बताउनुभयो ।

उहाँले सरकारले आफ्नो नैतिकता गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति वेला सरकारले अभिभावकत्व लिएर अघि बढ्नु पर्ने थियो त्यति वेला लुकेर बसेको छ , त्यसैले सरकारले जनताको विश्वास गुमाइसकेको छ ।’

यस्तै माओवादी केन्द्रकै मोहनकुमार खड्का, कुलप्रसाद साँवा लिम्बु, नेपाली कांग्रेसका लिाल सुब्बा, हिमाल कार्की , लोकप्रासद संग्रौला , संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु तुम्बाहाङ्फेलगायतले नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका ब्यक्त गर्नुभयो ।

Back to top button