६० हजारलाई मात्र हजका लागि साउदी अरबमा अनुमति दिने

कोरोना भाइरस संक्रमणको महामारीको कारण दर्शाउँदै साउदी अरबले यसपटक पनि हज गर्न जान चाहनेहरुका लागि कोटा तोकिदिएको छ । यस वर्ष हजमा ६० हजार मानिसलाई मात्रै अनुमति दिने साउदी सरकारले घोषणा गरेको छ।

त्यसमा पनि स्थानीय व्यक्तिलाई मात्रै अनुमति दिइने भएको हो । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै साउदी सरकारले हज गर्न विदेशीलाई रोक लगाउने र सिमित संख्या तोक्ने निर्णय गरेको हो।

साउदी अरबको विदेश मन्त्रालयले मानिसको सुरक्षा र स्वास्थ्यमा ध्यान दिँदै यस वर्ष पनि यस्तो कदम उठाउनु परेको स्पष्ट पारेको छ। यस्तै हज गर्न आउने साउदी भित्रकै नागरिकलाई पनि शर्त लागु हुनेछ । मन्त्रालयका हजका लागि जाने १८ देखि ६५ वर्षभित्रका कोरोनाको खोप लगाएको हुनुपर्नेछ। यस्तै गम्भीर रोग वा कुनै स्वास्थ्य समस्या नभएको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

साउदी अरबको यो निर्णयको इस्लामिक देशहरुको समूह ओआईसीले समर्थन गरेको छ। ओआईसीका महासचिव डाक्टर युसुफ अल ओथाइमीनले साउदीको हज मन्त्रालयले गरेको निर्णयको स्वागत गर्नुभएको छ । गत वर्ष पनि हजयात्रामा कोरोनाले असहज बनाएको थियो। गत वर्ष त जम्मा १ हजार जनालाई मात्र हजको अनुमति दिइएको थियो।

Back to top button