एमालेका दुबै पक्षका दोस्रो तहका नेताहरु पार्टी एकता जोगाउन छलफलमा

काठमाडौं । एमालेका दुबै पक्षका दोस्रो तहका नेताहरु पार्टी एकता जोगाउन आन्तरिक छलफलमा जुटेका छन् । पार्टी एकता जोगाउन अन्तिम प्रयासका लागि छलफलमा जुटेका हुन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुले गोकर्ण बिष्टको निवासमा लामो छलफल गर्नु भएको छ । छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्यलगायतका नेताहरूको सहभागिता रहेको एक नेताले बताउनुभयो ।

यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका दोस्रो तहका नेताहरु बालुवाटारमा छलफलमा जुटेको बालुवाटार स्रोतले जनाएको छ ।

दोस्रो तहका नेताहरुको छलफल सकारात्मक रुपमा अघि बढेको परिणाम प्रदेश १ र बागमति प्रदेशबाट प्रमाणित हुन्छ । दुबै प्रदेशमा दुबै पक्षका प्रदेशसभा सदस्यहरु एकजुट भएर अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

भोली आउन लागेको बजेट पनि दुबै पक्ष मिलेर पारित गर्ने वातावरण निर्माण भएकोले पार्टी एकता जोगाउने दोस्रो तहका नेताहरुको छलफल सकारात्मक रुपमा अघि बढेकोले पार्टीका नेता तथा कार्यकर्तामा आशा पलाएको छ ।

Back to top button