बेलबारी नगरपालिकाद्धारा बोयर जातका बाख्रा खरिद सम्झौता खारेज

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको आज बसेको ६९ औं नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा.लि. संखुवासभाबिच भएको बोयर बाख्रा खरिद सम्बन्धी सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

ग्रो अर्गानिक कृषि प्रा.लि.ले ठेक्कावापत जम्मा गरेको जमानत रकम जफत गरी प्रा.लि.लाई कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने समेत निर्णय गरेको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार नगर कार्यपालिका सदस्य बिन्दुकला गुरुङ्गको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलको रुपमा रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पार्टी रहेका छन ।

ग्रो अर्गानिक कृषि प्रा.लि. सखुवासभालाई ठेक्का बापत हालसम्म कुनै भुक्तानी नगरेको नगरपालिकाले जनाएको छ । बेलबारी नगरपालिकाले शतप्रतिशत बोयर जातका पाठापाठी अष्ट्रेलियाबाट नै ल्याएर उपलब्ध गराउने सम्झौता गरेको थियो । सोहि सम्झौता अनुशार नै भन्दै ग्रो अर्गानिक कृषिले उपलब्ध गराएका ५२ वटा बोका र ३८ वटा पाठी स्थानीय कृषकलाई वितरण गरियो ।

एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले कृषकहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भन्दै बोयर जातका पाठापाठी वितरण गरेको थियो । तर कृषकलाई वितरण गरिएका पाठापाठी शतप्रतिशत बोयर जातका नरहेको र अष्ट्रेलियाबाट नै ल्याएको नपाइएपछि चर्को विरोध हुँदै आएको थियो । अन्तत: नगरपालिकाले आज सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

Back to top button