आन्तरिक उडान सञ्चालन गर्न वायु सेवा कम्पनीको ताकेता

काठमाडौं । कोरोना माहामारीका कारण बन्द रहेको आन्तरिक उडान, सञ्चालन गर्न वायु सेवा कम्पनीले ताकेता गरेका छन् । लामो समयसम्म उडान बन्द हुँदा ठूलो क्षति व्यहोर्नुपरेको र कम्पनी नै धराशायी भएको भन्दै उनीहरुले उडान सञ्चालन गर्न सरकारसँग ताकेता गरेका हुन् ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दैनिक एक करोड रुपैयाँ घाटा व्यहोरिरहनु परेको भन्दै यहि स्थिती लम्बिदै गए कम्पनी चलाउन नै गाह्रो हुने बताउनुभयो । उडान नभए पनि प्रशासनिक, तलव र बैंकऋणलगायतका खर्च निरन्तर रहेको उहाँको भनाई छ । बुद्ध एयरका प्रवक्ता गणेश ढकालले दैनिक दुई करोड रुपैयाँ घाटा व्यहोरिरहेको बताउनुभएको छ ।

वायुसेवा कम्पनी लिमिटेडले यसअघि नै असार १ अर्थात आजदेखि आन्तरिक उडान खुलाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो । सो पत्र पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको छ । अब सीसीएमसीले गर्ने सिफारिसका आधारमा निर्णय हुने मन्त्रालयले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले पनि आन्तरिक उडान खुलाउनका लागि पहल गरिरहेको जनाएको छ । प्राधिकरणले कोरोनाको जोखिम कम भएका क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्न मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ ।

अघिल्लो वर्ष पनि निषेधाज्ञासँगै ६ महिनासम्म आन्तरिक उडान बन्द भएको थियो । जसमा वायुसेवा कम्पनीले अर्बौ रुपैयाँ घाटा व्यहोरेका थिए ।

Back to top button