प्रदेश १ का विपक्षी दलहरुको टिप्पणी : बजेट कार्यान्वयन चुनौतिपूर्ण

विराटनगर । प्रदेश १ सभामा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले आज प्रस्तुत गर्नुभएको बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको विपक्षी दलहरुले टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजिव कोइरालाले स्वास्थ्य र शिक्षा क्षेत्रमा यस वर्ष केही बजेट बढाएर ल्याउनुका साथै तोकिएको समयमा बजेट आउनु नै यो बजेटको सकारात्मक पक्ष भएको बताउनुभयो । गत विगत वर्ष जस्तै बजेटको कार्यान्वयन चुनौतिपूर्ण देखिएको उहाँको भनाई छ ।

‘बजेटमा धेरै कार्यक्रम गोलमटोल र सस्तो लोकप्रियतामा बजेट रुम्लिएको छ,’ कोइरालाले भन्नुभयो, ‘नहुने निर्वाचन लक्षित आँखाले देख्न भ्याएसम्मको कार्यक्रम ल्याएकोले कार्यान्वयन पक्ष चुनौतिपूर्ण छ ।’

प्रदेशमा आर्थिक गतिविधि बढाउन नयाँ संभावनाका ढोका खोल्ने नभई काम चलाउ बजेट भएको उहाँले टिप्पणी गर्नुभयो । रोजगारी दिने कार्यक्रमहरु ल्याएको तर त्यो कसलाई दिदै आएको र परिणाम के आयो त्यसको कुनै अनुगमन, मूल्यांकन गर्ने संयन्त्रसमेत नभएकोले कार्यकर्ता पोषणे बजेट ल्याएको उहाँको भनाई थियो ।

विपक्षी दल माओवादी केन्द्रका नेता तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले चालु आर्थिक वर्षमा १ दशमलव १८ प्रतिशत ऋणात्मक आर्थिक वृद्धि दरलाई ३ दशमलव ६ प्रतिशतले वृद्धि गर्ने लिएको लक्ष्य हावादारी भएको टिप्पणी गर्नुभएको छ ।

‘चालु र आउँदो वर्षमा कोरोना महामारी रहने विद्यमान अवस्थामा ऋणात्मक आर्थिक वृद्धि दरलाई ३ दशमलव ६ प्रतिशत पु¥याउन निकै कठिन हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आर्थिक पुरुत्थान केन्द्रित बजेट आउनु पर्ने थियो तर त्यस्तो नभएकोले आर्थिक वृद्धि दरको लक्ष्य पूरा हुँदैन ।’

आर्थिक क्षेत्रको संभावित नयाँ ढोका खोल्ने आर्थिक क्रियाकलाप केन्द्रित बजेट नभएको उहाँलेको टिप्पणी गर्नुभएको छ । स्वास्थ्य क्षेत्र केन्द्रित बजेट भनिएको तर संघीय सरकारबाट आएको अनुदान बाहेकको प्रदेश सरकारको आफ्नो कुनै कार्यक्रम नआएको आङ्बोको भनाई थियो ।

‘प्रदेशमा संभावना जगाउने बहुवर्षीय योजनाहरुमा पनि बजेट नभएको तर राष्ट्रपति आमा सम्मान, सासु–वुहारी सम्मान जस्ता टुक्रे कार्यक्रममा बजेट विनियोजन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘संघीय सरकारले घोषणा गरेको नहुने निर्वाचनका निम्ति जनतालाई लोभ्याउने गरी बजेट ल्याएको छ ।’

बजेटमा प्रदेश सरकार कुहिरोको काग जस्तो आफै हराइ रहेको आङ्बोले टिप्पणी गर्नुभयो । ‘ठोस उपलब्धी हासिल गर्न ठोस योजनामा बजेट विनियोजन छैन,’ उहाँले भन्नुभयो, ‘सुनेजति र देखेजति कार्यक्रम राखेको र त्यो कार्यान्वयन गर्ने निकाय र स्रोत दुबै नभएकोले कार्यान्वयन चुनौतिपूर्ण छ ।’

प्रदेश सरकारले गत वर्ष ल्याएको निर्वाचन क्षेत्र पूर्वाधार विकास र विशेष कार्यक्रमका लागि चालु आर्थिक वर्षमा बजेट नभएको भन्दै कार्यक्रमै सञ्चालन गरेन तर बजेटको स्रोतमा २ अर्ब नगद मौजदात रहने भन्नु हास्यास्पद विषय भएको उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता जयराम यादवले तोकिएको समयमा बजेट वक्तव्य आउनु राम्रो पक्ष भएको तर कार्यान्वयन कठिन रहेको टिप्पणी गर्नुभएको छ । ‘गत विगतको असफल हुँदै आएको जस्तै यो बजेट पनि असफल हुने देखियो,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको प्राथमिकताभन्दा पार्टीको किचलो केन्द्रित बजेट रहेको छ ।’

सस्तो लोकप्रियताका लागिे र कार्यकर्ता पोषणे बजेट आएको यादवले टिप्पणी गर्नुभयो ।

Back to top button