सेजलको बलात्कारपछि हत्या भएको निष्कर्ष : भोजपुरका अरुण राई पक्राउ

झापा । झापाको दमकमा रहस्य मृत्यु भएकी सेजल कोइरालाको मृत्यु नभई हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले कोइरालाको बलात्कारपछि हत्या भएको आशंका गर्दै एकजना आरोपीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्टपछि घटनामा संलग्न भएको आशङ्कामा भोजपुर घर भई दमकमा बस्दै आएका अरुण राईलाई हिजो नियान्त्रणमा लिएको हो । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

आरोपित राईलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभएको छ ।

इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी घर भएकी कोइराला दमक–५ मा डेरा गरी बस्दै आउनुभएको थियो । रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत कोइराला आफ्नै शौचालयको कमोडमा २७ जेठमा साँझ बेहोस अवस्थामा भेटिएको भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा पुर्‍याएका थिए । कोइरालालाई अस्ताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

Back to top button