पानी दिएको गुण विपद्मा सहयोग गरेर तिर्दै काठमाडौं महानगर

काठमाडौं । पानी दिने मेलम्चि र हेलम्बुको लागि काठमाण्डौं महानगरपालिकाले २ करोड सहयोग गर्ने भएको छ । महानगरले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्न सहयोग गरिएको उहाँले बताउनुभयो । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएर गुण लगाएको भन्दै उहाँले यस्तो विपदको बेला महानगरले सहयोग गरेको उहाँले बताउनुभयो ।

मंगलबार राति पहिरोले थुनिएको मेलम्चीमा बाढी आउँदा हेलम्बु र मेलम्ची डुवानग्रस्त भएको छ भने ठूलो जनधनको क्षति ब्यहोरेको छ । मेलम्ची नगरपालिका र काठमाडौँ महानगर बिच भगिनी सम्वन्ध समेत स्थापित रहेको मेयर शाक्यले जानकारी दिनुभयो ।

Back to top button