जसपाका नेता पेस्तोलसहित पक्राउ

उदयपुर । जनता समाजवादी पार्टी उदयपुरका जिल्ला सदस्य परशुराम चौधरीलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ३ मोतिगढास्थित कान्छी पत्नीको घरमा हतियार लुकाइरहेको सूचनाका आधारमा प्रहरीले छापामारी गरी हतियारसहित ५० वर्षीय चौधरीलाई पक्राउ गरेको हो ।

मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ । चौधरीको घरबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

चौधरीले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का २३ वर्षीय बबी चौधरीलाई फसाउन हतियार घरमा हतियार राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चौधरीकी छोरी र बबीबीचको प्रेम सम्बन्ध तोड्न परशुरामले हतियार राखेको अनुसन्धानबाट खुलेको हो ।

चौधरी पूर्व माओवादी लडाकु रहेको र त्यसपछि बिभिन्न पार्टीको लाग्दै २०७७ माघ ४ औपचारिक रुपमा जसपाको राजनीतिमा सक्रीय भएको प्रहरीले जनाएको छ । चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

Back to top button