गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लन लाग्नुभएको छ । आज ११ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको हो ।

एमालेका संसदीय दलका नेता तथा निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सदनमा विश्वास गुमाउनुभएको थियो । प्रदेश प्रमुख सीता पौडेलले सरकार गठनका लागि आह्वान गरेपछि बहुमतको आधार प्रस्तुत गर्दै पोखरेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएर अहिले कायम ५९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त गर्न भने सहज भएको छ । यसअघि स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य दिपक मनाङेको मत नै विश्वासको मत प्राप्तीका लागि निर्णायक थियो । तर अब त्यो बाध्यात्मक अवस्थामा कृष्ण थापा पदमुक्त भएसँगै परिवर्तन भएको छ ।

अहिले प्रदेशसभामा एमालेको २७ जना प्रदेशसभा सदस्य मात्रै छन् । मुख्यमन्त्री पोखरेललाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन छ ।

Back to top button