भ्रामक समाचार निगरानीका लागि प्रेस काउन्सिललाई बेलबारी नगरपालिकाको आग्रह

विराटनगर । बेलबारी नगरपालिकाले भ्रामक समाचार लेख्ने मिडियाहरुलाई निगरानीका लागि ध्यानाकर्षण गराएको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले आज विज्ञप्ती जारी गरी निगरानीका लागि ध्यानाकर्षण गराउनुभएको हो ।

नगरपालिकाले जनताको पक्षमा प्रश्न उठाउने पत्रकारले समाचारमा व्यवसायीको पक्षमा प्रश्न उठाउन थालेपछि नेपाली पत्रकारिताप्रति जनसाधारणको विश्वास गुम्नेतर्फ सतर्कता अपनाउनका लागि प्रेस काउन्सिललाई आग्रह गरेको छ ।

ठेक्का प्रक्रियामा खरिद गरेको बोयर बोका र बाख्रा ठेकदारले सम्झौता बमोजिम उपलब्ध नगराएकोमा नगरपालिकाले कारबाही गरेको छ । नगरपालिकाले कारबाही गर्दा केही सञ्चारमाध्यमले ठेकदार व्यवसायीको पक्षपोषण गरेर कपोलकल्पित, भ्रामक समाचार प्रकाशन, प्रशारण गरेको प्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

ठेकदारले सम्झौता अनुसारको सर्तको अधिनमा रही बोका र बाख्रा खरिद गरेको भन्दै नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले ठेकदारमाथि विश्वास गरेर बोका र बाख्रा लक्षित वर्गलाई बितरण पनि गरिसकेको थियो । तर पछि किसानले बोका र बाख्रा शतप्रतिशत अस्ट्रेलियन बोयर प्रजातिको नभएको भन्दै प्रदर्शनमा उत्रेपछि नगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ ।

चौतर्फी विरोध हुन थालेपछि नगरपालिकाले छानविन गरी ग्रो अग्र्यानिक कृर्षि प्रालि. संखुवासभासँग गरेको सम्झौता रद्द गर्नुका साथै कालोसूचीमा राख्ने र धरौटीसमेत जफत गर्ने निर्णय गरेको छ ।

ठेकदारलाई पक्ष पोषण गरेर समाचार प्रकाशन, प्रशारण गरेका मिडिया हाउसका पत्रकारले सत्यतथ्य नै नगरपालिकामा नबुझी अनर्गल, कपोलकल्पित, तथ्यहिन, भ्रामक समाचार लेखेको प्रति नगरपालिकाले आपत्ति जनाएको छ ।

Back to top button