स्काउटको ७० औं स्थापन दिवसको अवसरमा मुख्यमन्त्री राईको शुभकामना

स्काउट प्रदेश १ कार्य समितिको स्वयंसेवा प्रशंसनीय

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल स्काउटको ७० औं स्थापना दिवसको अवसरमा शुभकामना दिनु भएको छ । मुख्यमन्त्री राईले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्काउटले प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रण, रोकथाम, उपचारका साथै संक्रमितको शव व्यवस्थापनमा गरेको योगदानको प्रशंसा गर्नु भएको हो ।

२०७७ कार्तिक २६ गते गठित स्काउट प्रदेश १ तदर्थ समितिले यस प्रदेशको १३७ वटै स्थानीय तहमा तदर्थ समिति निर्माण गरी सञ्चालन गर्दै आएको गतिविधिप्रति मुख्यमन्त्री राईले खुशी व्यक्त गर्नुभएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि जारी निषेधाज्ञामा संक्रमणको डर र यातायातको साधन अभावमा अस्पतालसम्म जान नसकेका बिरामीहरुलाई परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले एक महिनादेखि लगातार सञ्चालन गर्दै आएको चिकित्सक परामर्श सेवा प्रशंसनीय रहेको शुभकामना पत्रमा उल्लेख छ ।

साथै निषेधाज्ञा अवधिमा खाद्यान्न अभावमा भोकै बस्न बाध्य विपन्नहरुलाई राहत वितरण, कोभिड बिरामीलाई पौष्टिक आहार उपलब्ध जस्ता कार्यले स्काउटप्रति प्रदेशवासीको आशा र विश्वास अझै जगाएको मुख्यमन्त्री राईले बताउनु भएको छ ।

स्काउट प्रदेश १ ले नेपाली सेनासँगको सहकार्यमा ४ दिने तालिम लिई झापा र मोरङको ४ ठाउँमा क्विक रेस्पोन्स टिम बनाई संक्रमितको शव व्यवस्थापन जस्तो साहासिक र जोखिमपूर्ण कार्य गरी स्काउट देशमा आवश्यक पर्दा सधैं अग्रपंक्तीमा रहेर स्वयंसेवी काम गर्न तत्पर रहेको प्रष्ट भएकोले यस्ता अनुकरणीय कार्यप्रति धन्यवाद ज्ञापन गर्नुको साथै मुख्यमन्त्री राईले प्रशंसा गर्नुभएको छ ।

Back to top button