राजनीतिको व्यवस्थित व्यवस्थापन र युवाको भूमिका

अन्जु पाण्डे ।

जीवनमा ती ब्यक्तिहरुलाई सबैभन्दा धेरै संकट आउँछ, जुन व्यक्तिहरु श्रृजनात्मक र क्रान्तिकारी हुन्छन् । तर तीनै व्यक्तिहरु लाई नै हरेक संकटले नयाँ उर्जा दिएर जान्छ र अझ बलियो बनाउँछ । मान्छेको जिन्दगीमा आउने हरेक संकटहरुमा उर्जा पनि हुन्छ । राजनीति एउटा चेतना हो । मानव समाज र राजनीतिबिच घनिष्ठ सम्बन्ध हुन्छ । प्रत्येक मानवीय चेतनालाई राजनीतिले प्रत्यक्ष वा परोक्ष कुनै न कुनै किसिमको प्रभाव पारेको हुन्छ । राजनीतिले कस्लाइ कस्तो प्रभाव पार्दछ ? यो विषय उसको विवेकमा भरपर्छ । समाजका हरेक व्यक्तिलाई राजनीतिले फरक–फरक प्रभाव पारेको हुन्छ ।

एउटा कुशल नेता त्यो हो, जस्ले आउने पुस्ताको नेतृत्व पनि कुशल जन्माउन सक्छ । हामीले कुनैपनि काम किन र के का लागि भनेर पहिले नै निर्धारण गर्न सकेनौं भने गन्तव्यले गलत दिशा लिनसक्छ । अरुले के गर्यो ? के गर्छ ? भन्दापनि मैले के गर्ने ? भन्ने कुराले महत्त्व राख्छ । हरेक व्यक्तिमा कुनै न कुनै कुराको क्षमता (खुबी) हुन्छ । तर, आफूभित्रको आफूलाई चिन्न सक्नु पर्छ । राजनीतिले हरेक मानवलाई दुईखाले बाटो मा डोहोर्‍याउँछ सत्मार्ग र कुमार्ग । असल मान्छेको पहिचान गरेर अनुशरण गर्नेहरुलाई सत्मार्गमा पुर्‍याउँछ भने खरावमान्छेको अनुशरण गरेर हिड्नेहरुलाई कुमार्गमा पुर्‍याउँछ । कुन बाटो रोज्ने निर्णय स्वयम्ले लिनुपर्छ ।

अरुले के गर्यो ? के गर्छ ? भन्दापनि मैले के गर्ने ? भन्ने कुराले महत्त्व राख्छ । हरेक व्यक्तिमा कुनै न कुनै कुराको क्षमता (खुबी) हुन्छ । तर, आफूभित्रको आफूलाई चिन्न सक्नु पर्छ ।

यहाँ विषयको उठान यसरी गर्न खोजिएको छ कि, पछिल्लो समय देखिएको राजनीति उतारचढाव र यसमा युवापुस्ताले निर्वाह गर्दै आइरहेको भूमिका । लामो समयको राजनीतिक अस्थिरताबाट गुज्रिएको हाम्रो नेपाल हरेक क्षेत्रका विकासमा दशकौं पछाडि परिरह्यो । साझा मुद्धाहरुमा पनि राजनीतिक शक्तिहरु ध्रुविकृत भइरहँदा राज्यसत्ता नौ नौ महिनामा फेरिरहने मात्र नभइ अनेकन उतारचढावहरु हामीले देख्यौं । क्रमशः समयले सवै राजनीतिक दलहरुलाई एकठाउँमा उभ्यायो । सवै युवापुस्ताको अजेण्डा एकत्रित हुन पुग्यो । फलत : मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । त्यसपछि पनि स्थायी सरकार बन्न केहि समय लाग्यो । बल्लबल्ल ५ वर्षका लागि जनताको म्याण्डेड लिएर बनेको वर्तमान सरकार पनि अहिले ढल्छ कि भरे ढल्छ भन्ने स्थितीमा पुगेको हामी सवैलाई विधित नै छ ।

राजनीतिमा देखिएको यस्ता बिकृती, अझ भनौं नेपालको राजनीति इतिहासमा बर्सौंदेखि चलिआएका सत्ता परिवर्तनका खेलहरु पुनः देखिएका छन् । सत्तामोहकै कारण जोडघटाउ र भागबण्डा कायमै छ । हिजो नेपालमा लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्था नहुँदा जस्ता राजनीति खेलहरु भए अहिले पनि उस्तै प्रवृत्ति देखिएका छन् । मुलुकमा व्यवस्था पविर्तन त भयो, तर राजनीतिभित्रको खिंचातानी दलबदल सत्तापरिवर्तनका खेल उस्तै छन् । यस्ता बिकृतीका विरुद्ध युवाहरुको धारणा साझा हुन आवश्यक छ जुन हुन सकेको छैन ।

हिजो आफैले भूमिका निर्वाह गरिदिएर सृजना गरेको वातावरण (राजनीति स्थायीत्व र स्थिर सरकार ) का लागि युवाहरुको खबरदारी हुनुपर्ने थियो । त्यसको विपरीत अहिले तिनै युवाहरु विभिन्न पक्ष विपक्षमा लागेर बिरोधका लागि बिरोध गर्ने, एकले अर्कोको विचारको सम्मान नगर्ने, विभिन्न झुण्डमा बिभाजित भएर सत्तापरिवर्तनकै खेल मलजल गर्ने काममा लागेका छौं । यसले अस्वस्थ राजनीतिलाई बाहेक केहि व्यक्तिका लागि क्षणीक लाभ होला त्यसको सिवाय अरु के नै होला र ? यस्तै भूमिकाको कारण राजनीतिको जिम्मेवार ठाँउमा युवाहरु लाई अझै बिश्वास गर्न सक्ने स्थिति समेत बन्न सकेको छैन । जबसम्म यस्ता बिकृती विरुद्ध युवाहरु एक हुदैनन् तबसम्म यस्ता राजनीति बिकृतीबाट मुलुकले छुटकारा पाउन सक्दैन ।

अहिले प्रविधिको विकास यसरी भएको छ कि विश्व एउटा घरमा परिणत भएको छ । त्यसैले हामीले सहजै विश्वलाई पनि नियाल्न सक्छौं । विश्व राजनीतिलाई हेर्ने हो भने अधिकांश विकसित देशहरुमा राजनीति–आर्थिक–सामाजिक सबै क्षेत्रको व्यवस्थित विकास भइसकेको छ । लाग्छ त्यहाँ कुनै प्रकारका राजनीति बिकृतीहरु छैनन् । त्यसैले त राजनीतिमा लाग्ने युवाहरुले सर्वोच्च तहको नेतृत्व समेत गर्न सफल भएका छन् । त्यहाँ नविनतम् सोंच छ । विकास उसैगरि भएको छ । अर्को तर्फ जुन मुलुकमा राजनीति बिकृती चरम हुन्छ, त्यहाँ कुनैपनि व्यवस्थाले काम गर्न सक्दैन । त्यसैले मुलुकलाई सुव्यवस्थित सुशासन र स्वाभिमानसहितको समृद्धि तर्फ अगाडि बढाउने हो भने सबैभन्दा पहिले युवाहरुको राजनीति चेतलाई सहि दिशा दिन सक्नुपर्छ । कुनैपनि देशकालागि युवा भनेका अमुल्य सम्पत्ति हुन् । त्यो ज्ञात गराउन आवश्यक छ ।

युवाहरुमा भएको जोस जाँगर र चेतनालाई मुलुकले जति धेरै सदुपयोग गर्छ देशको समृद्धि त्यति नै चाँडो सम्भव छ । हाम्रोजस्तो विकासोन्मुख देशको कुरा गर्ने हो भने समृद्धिका अथाह सम्भावना हुँदाहुँदै पनि अझै गरिबीको रेखाभन्दा माथि उठ्न सकेको छैन । आखिर किन त ? देशमा शासकीय व्यवस्थामा त परिवर्तन गरियो तर, राजनीतिको व्यवस्थित व्यवस्थापन हुन सकेको छैन । समस्या यहाँ छ कि देशका उर्जाशिल युवाहरु विश्वका विभिन्न देशहरुमा न्यून पारिश्रमिकमा आफ्नो श्रम बेच्न बाध्य छन् । नेपालमै रहेका राजनीति–सामाजिक चेत भएका युवाहरु पनि कुनै न कुनै राजनीति स्वार्थमा प्रयोग भइरहेका छ्न् । राजनीति चेतना भएका युवाहरुको आवाजलाई कुनै न कुनै तवरबाट लगाम लगाइने गरिन्छ । जुन प्रष्ट छ । यी र यस्तै कारणले पनि नेपाली राजनीतिको व्यवस्थित व्यवस्थापन हुन सकिरहेको छैन ।

नेपालको राजनीति इतिहास हेर्ने हो भने युवाहरुका चेतनाले भरिएका आवाजले नै अहिलेसम्म ठूला–ठूला राजनीतिक परिवर्तनहरु सम्भव भएका हुन् । म एक विद्यार्थी युवा भएकै कारण आफ्नो विचार प्रस्तुत गर्दै छु । हिजोका दिनमा सबै दल, भूगोल र सम्प्रदायका युवाहरुका आवाज एक थिए । अनि मात्रै क्रान्ति सफल भएको थियो । फेरि पनि एक पटक नेपाली समाजका राजनीति सामाजिक चेतना भएका युवाहरु राजनीति र दलगत स्वार्थलाई त्यागेर नितान्त सामाजिक स्वार्थ र आउने पुस्ताको भविष्य सम्झेर राजनीति बिकृतीका विरुद्ध एक हुन जरुरी छ । सत्ता समिकरणकै लागि गरिरहने राजनीतिक खेललाई निरुत्साहित गर्नुपर्नेछ ।

युवाहरु अझै राजनीति बिकृतीको दलदलमा रमाउँदै जाने हो भने, आउने पुस्ता त के ? पुस्तौं–पुस्तासम्म पनि सुशासन र समृद्धिको सपनाहरु केवल सपनामा नै सिमित हुने निश्चित छ । नेपालमा अहिले दुई प्रकारका युवाहरुको धेरै चर्चा हुने गरेको छ । एउटा राजनीति दलमा आबद्ध र अर्को स्वतन्त्र युवा । राजनीति दलमा आबद्ध युवाहरु धेरै कुरामा सचेत देखिन्छन् । उनीहरुमा राजनीति– सामाजिक चेतना पनि देखिन्छ । तर, राजनीति भित्रका बिकृतीका बारेमा स्वतन्त्र अभिव्यक्ती दिन त परै जाओस गलतलाई गलत र सहिलाई सहि भन्न सक्दैनन् । किनकि राजनीति दलले उनीहरुलाई लगाम लगाएको हुन्छ ।

यस्तै चर्चा रहने अर्को पंक्ति हो स्वतन्त्र युवाहरुको । तर तिनमा पनि एउटै ध्यान देखिन्छ, कसरी हुन्छ चर्चित हुन पर्‍यो । चर्चित हुनलाई जे गर्नपरे गर्ने । अझ भनौं जस्तोसुकै हत्कन्डा अपनाउन पछी नपर्ने । स्वतन्त्र भित्रै पनि आफूलाई बौद्धिक स्वतन्त्र भन्ने युवाहरुको समूह पनि देखिन्छ । उनीहरुको भूमिका पनि सकारात्मक उर्जा भर्ने नभई केवल नकरात्मकता मात्रै उजागर गर्ने देखिन्छ । उनीहरु जताततै नकारात्मक बिचार मात्रै राख्छ्न । नकारात्मक धारणा मात्रै बनाउछ्न र समाजलाई हतोत्साही बनाउन तल्लिन देखिन्छन् ।

युवापुस्तालाई यस्तो बनाइयो कि आफूभित्रको क्षमतालाई चिन्न नसक्ने । राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसक्ने । नेतृत्वले गरेका सवै काम राम्रो मात्र देख्ने बनाइयो ।

आखिर यी सवैखालका बिचार र व्यवहार हुनुमा केवल युवाको दोष भने पक्कै होइन । यहाँका राजनीतिक नेतृत्व र उनीहरुले समाजलाई ‘ड्राइभ’ गर्ने नीतिकै परिणाम हो । युवापुस्तालाई यस्तो बनाइयो कि आफूभित्रको क्षमतालाई चिन्न नसक्ने । राम्रो लाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसक्ने । नेतृत्वले गरेका सवै काम राम्रो मात्र देख्ने बनाइयो । जसको कारण अहिलेको राजनीति संस्कारलाई मलजल गरिरहेको छ । यो दुर्भाग्यपुर्ण अवस्था हो ।

यस्ता बिकृतीले भरिपूर्ण राजनीति संस्कारलाई बदल्नु छ भने युवाहरु आफू बदलिनु जरुरी छ । किनभने तपाईं जतिसुकै संसार बदल्ने कुरा गर्नुस न, तपाईंले आफूले चाहेको क्रान्तिमा आफूलाई ढाल्न सक्नुभएन भने परिवर्तन एक सपना मात्रै हो । अहिले युवाहरुमा ठूलो समस्या यहाँ छ कि हामी अरुको मात्रै कमजोरी देख्छौ । आफ्नो कमजोरी केहो ? मेरो समस्या कहाँ छ ? त्यतापट्टि हाम्रो ध्यान जादैन । यो युवा माझमा निकै जटिल समस्या हो । जबसम्म युवाहरुले राजनीतिमा आफ्नो निजी भविष्य खोज्छन्, तबसम्म राजनीति बिकृतीहरु बढिरहन्छ्न् । मेरो राजनीति उपस्थिति के र कस्का लागि भन्ने कुराको निर्धारण युवा आफैले गर्नुपर्छ । युवाहरु समाजप्रति जिम्मेवार हुनुपर्छ । राजनीति भित्रका बिकृतीका विरुद्ध हस्तक्षेपकारी भूमिकामा युवाहरु हुनुपर्छ ।

जबसम्म युवाहरुले राजनीतिमा आफ्नो निजी भविष्य खोज्छन्, तबसम्म राजनीति बिकृतीहरु बढिरहन्छ्न् । मेरो राजनीति उपस्थिति के र कस्का लागि भन्ने कुराको निर्धारण युवा आफैले गर्नुपर्छ । युवाहरु समाजप्रति जिम्मेवार हुनुपर्छ । राजनीति भित्रका बिकृतीका विरुद्ध हस्तक्षेपकारी भूमिकामा युवाहरु हुनुपर्छ ।

सामाजिक राजनीति आर्थिक बिकृतीलाई हटाउनका लागि ती युवाबाट मात्रै सम्भव छ, जुन युवामा राजनीति चेतना छ । सकारात्मक उर्जा छ । ती युवाबाट मात्रै अहिलेको सामाजिक उदण्डता रोक्न सम्भव छ । अहिले मुलुकको महत्त्वपूर्ण आवश्यकता भनेको समृद्धि र सुशासन हो । जसले स्वाभिमान र राष्ट्रियतालाई थप उचाईमा पुर्‍याउँछ । यी कुरा हासिल गर्नका लागि युवाहरुले पदीय लोभ, निजी भविष्यजस्ता कुराहरुलाई त्याग्न जरुरी छ । समृद्धिको भिजन बोकेका व्यक्तिलाई राजनीतिमा स्थापित गराउँदै जानुपर्छ । कुनैपनी राजनीति दलका एजेन्डा जनताका हितमा छन् या छैनन ? जनताका चाहाना अनुसारका छन् कि छैनन् ? त्यतापट्टि सबैको ध्यान जान जरुरी छ । अझै पनि राजनीति चेतना भएका युवाहरु राजनीति बिकृतीका विरुद्ध एक भएर आवाज नउठाउने हो भने मुलुकमा ठूलो अराजकता निम्तिन सक्छ ।

Back to top button