गाँजा र ७ लाख नगदसहित ६ जना पक्राउ

विराटनगर । प्रहरीले १८ किलो गाँजा र ७ लाख १९ हजार ८ सय नगदसहित ६ जनालाई विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय छन् ।

सुनसरीको देवानगन्ज १ का ४० वर्षीय उमेश यादव, धरान उपमहानगरपालिका १३ सुम्निमा चोकका ४५ वर्षीय सुर्य राई र धनकुटाको सहिदभुमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राईलाई पक्राउ गरेको छ ।

यस्तै, भारतको अररिया फार्बिजगन्जका १९ वर्षीय सोनु कुमार यादव, अररिया पिप्राघाट विसनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार पक्राउ गरेको हो ।

को१च २४१२ नम्बरको मारुती भेनमा जाँदै गरेका बेला सुरक्षा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ७ लाख १६ हजार ६ सय र भारतीय रुपैयाँ २ हजार गरी कूल ७ लाख १९ हजार ८ सय बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

उनीहरुलाई अनुसन्धान गर्ने क्रममा बरामद भएको रकम गाँजा खरिद बिक्रीको भएको खुलेको उहाँले बताउनुभयो । त्यसपछि अनुसन्धान गर्दै जाँदा उनीहरुले विराटनगर ६ रामपुरस्थित झाडीमा लुकाएर राखेको १८ किलो गाँजासमेत बरामद भएको छ ।

पक्राउ परेका ६ जनाविरुद्ध लागुऔषध कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो ।

Back to top button