शून्य समयमा प्रदेशसभा सदस्य क-कस्ले के भन्नुभयो ?

प्रदेश १ सभामा आज बसेको वैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरुले दैवीक प्रकोपको पूर्व तयारी, महङ्गी नियन्त्रण र हिमताल संरक्षणलगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शून्य समयमा प्रदेशसभा सदस्य क-कस्ले के भन्नुभयो ?

इन्दिरा राई

वर्षाको समयमा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । खोला नदि किनारका जग्गाको जग्गाधनी प्रमाणपत्र बितरण गर्ने कार्य अविलम्ब रोक लगाई खोलाको भाग सुरक्षित राख्न सरकारको ध्यानाकर्षण गराउँछु ।

यस्तै प्रदेश १ मा पनि मनसुनी बर्षाको संभावना रहेकाले उद्धार, राहत, पुनस्र्थापनाको तयारीका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

कृष्णकुमारी राई

हरेक क्षेत्रको महंगी बढेको छ । आधा लिटर तेलको मूल्य ९० रुपैयाँबाट १३५ पुगेको छ, चैतमा २५ किलोलाई १ हजार परिरहेको चामलको मूल्य अहिले १६ सय पुगिसक्दा पनि किन मौन बसिरहेका छौं ।

सरकारले के गर्दैछ यस बारेमा सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराउन चाहन्छौं ।

पूर्णप्रसाद राई याम्फू

संखुवासभाको मकालु– २ मा मकालु हिमालको फेदमा लामपोखरी भन्ने पोखरी छ । हिउँदमा हिउँ भएर बस्ने र वर्षामा ताल बन्ने गरेको छ । ३०-३५ मिटर पर अरुण नदी बगेको र निकास कच्ची छ । त्यो फुट्न सक्ने अत्यन्तै खतरा छ ।

यदि त्यो फट्यो भने जनधनको ठूलो क्षति हुने निश्चित छ । त्यसकारण पनि त्यसको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । बरुण खोला स्नान गर्ने तिर्थस्थलको रुपमा विकास भइरहेको छ ।

त्यहाँ जलविद्युत निर्माणको काम पनि भइरहेको छ । त्यसले त्यो तिर्थस्थललाई प्रभाव पार्ने निश्चित छ । स्थानीयतहले भन्दा पनि सुनुवाइ भएको छैन । यदि सुनुवाई नहुने हो भने जनताको साथमा आफैं संघर्षमा उत्रन बाध्य हुनेछु ।

Back to top button