प्रदेश १ का संक्रमणको जोखिम भएका जिल्लाहरुमा असार १४ गतेसम्म निषेधाज्ञा

विराटनगर । प्रदेश १ स्थित संक्रमणको जोखिम उच्च रहेका जिल्लाहरुमा थप एक साता निषेधाज्ञा जिल्ला प्रशासन कार्यालयहरुले लम्ब्याउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, पाँचथर, इलाम, उदयपुरलगायतका जिल्लामा असार १४ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो । एक साता थप गरिएको निषेधाज्ञामा बिान १२ बजेसम्म सबै प्रकारका पसलहरु सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सार्वजनिक यातायातका साधन, शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न नपाउने बताउनुभयो ।

अहिले अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउन प्रजिअ निरौलाले आग्रह गर्नुभयो ।

एक सातापछिको अवस्था विशलेषण गरेर निषेधाज्ञा थप खुकुलो पार्ने विषयमा निर्णय लिने उहाँको भनाई थियो । स्थानीय प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ ।

निषेधाज्ञा उलंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारवाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताउनुभयो । अध्यादेशमा कोरोना नियन्त्रण, रोकथाम र निदानमा अबरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुबै सजाय गर्ने प्रजिअलाई अधिकार दिएको छ ।

Back to top button