लगानी बोर्डद्धारा ९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले विभिन्न आयोजनाका लागि करिब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आज प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको वैठकले स्वीकृति प्रदान गरेको हो ।

बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत् परियोजना (२८५ मेगावाट क्षमता भएको ) र अनुमानित लागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मर्स्याङ्गदी जलविद्युत् परियोजना (१३९.२ मेगावाट क्षमता भएको ) को लागि करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो ।

यसैगरी बैठकले सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क चाइना – नेपाल फ्रेण्डशिप इण्डस्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभएनएल लिमिटेड इण्डियासँग गरिने समझदारी–पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

यसैगरि वैठकले तमोर जलाशययूक्त जलविद्युत् परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदानगर्ने सम्बन्धमा देखिएका समस्यालाई आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

यसैगरी, बैठकले अरुण ३ जलविद्युत् परियोजना प्रवेश मार्गअन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थितगर्ने सम्बन्धमा’विदेशीमुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि,२०७८’ स्वीकृत गरेको छ ।

वैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसँगै प्रशारण प्रणाली समेतको निर्माण र परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन पनि ध्यानाकर्षण गराउनुभएको छ ।

Back to top button