पत्रकार सम्मेलनमार्फत पथरीशनिश्चरेको नीति, कार्यक्रम बजेट सार्वजनिक

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको हिजो सम्पन्न नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८÷७९ का लागि पारित नीति, कार्यक्रम र बजेट आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रवक्ता यामप्रसाद गुरागाईंले विज्ञप्ति जारी गर्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रस्तुत गरी पारित भएको आर्थिक वर्ष २०७८/०७९ का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आयव्यय विवरणका बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले सवैको सकारात्मक सोच र सहयोगबाट समग्र नगरको विकास हुने जनाउँदै नगरपालिका कार्यालयको आर्थिक क्षमताले भ्याएसम्मका योजनाहरु अघि बढाउदै आएको वताउनु भयो ।

कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले स्वागत मन्तव्य र सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी र १० नम्बर वडाध्यक्ष सागर राईले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

लेखा अधिकृत पिताम्बर वस्ती, ३ नम्बर वडाध्यक्ष डम्बरबहादुुर चेम्जोङ, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल सहितको उपस्थिती रहेको थियो ।

नगरसभामा आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरुका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन गर्न र खर्च गर्न बनेको ‘विनियोजन विधेयक’ पारित भएको पनि जानकारी गराइएको छ ।

सोही कार्यक्रममा यस वर्षका लागि, रातोकलम डटकम अनलाइनका प्रवन्ध सम्पादक अर्जुन जम्नेली राईलाई उत्कृष्ट पत्रकार सम्मान, प्राइम टेलिभिजनका कुमार खड्कालाई उत्कृष्ट पत्रकार पुरस्कार र कुरकुरे डटकम साप्ताहिकलाई उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार प्रदान गरिएको छ । विगत २ दशकदेखि पत्रकारितामा क्रियाशील राईलाई मुहारचित्र, दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ ।

खड्कालाई नगद १५ हजार र प्रशंसापत्र र कुरकुरे डटकमलाई नगद २५ हजार र प्रशंसापत्र प्रदान गरिएको छ । ४ जना पत्रकारलाई लेखनवृत्ति समेत वितरण गरिएको छ । स्थानीय मिडिया प्रवर्दन अन्तर्गत नगरका ८ वटा सञ्चारमाध्यमलाई जनहितमा जारी सूचना वापतको प्रवर्दनात्मक रकम उपलब्ध गराइएको छ ।

१० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको छ । वजेटमा अनुमानित आम्दामीतर्फ आन्तरिक श्रोतबाट ३ करोड, राजस्व वाँडफाँडतर्फ संघीय सरकारबाट ९ करोड ९९ लाख ९३ हजार, प्रदेश सरकारको सवारी साधन कर राजस्व बाँडफाड १ करोड ४६ लाख ७६ लाख ४ सय २० र राजस्व फाँडफाड मालपोतबाट २ करोड गरी १३ करोड ४६ लाख ६९ हजार ४ सय २० रुपैयाँ विनियोजित भएको छ ।

संघीय सरकारबाट समानिकरण अनुदानमा १८ करोड २२ लाख, शसर्त पूँजीगत अनुदानमा ४ करोड १३ लाख, चालुतर्फ शसर्त अनुदानमा २३ करोड ६६ लाख र समपुरक अनुदानमा १ करोड १८ लाखगरी ४८ करोड ८५ लाख प्राप्त हुने भएको छ ।

प्रदेश सरकारतर्फ, समानिकरण अनुदानबाट १ करोड ७४ लाख ६ हजार, करुणा फाउण्डेशनको शसर्त अनुदानबाट १९ लाख गरी १ करोड २६ लाख ४६ हजार रुपैयाँ प्राप्त हुनेछ ।

यसका साथै अन्य शिर्षकतर्फ, करुणा फाउण्डेशनले व्यहोर्ने १९ लाख, वन रोयल्टीबाट प्राप्त हुने ८ लाख ९६ हजार ३ सय २४, सामाजिक सुरक्षा भत्ता २८ करोड र सडक बोर्डबाट ८० लाख गरी २९ करोड ७९ लाख ६३ हजार हजार २४ रुपैयाँ नगरको आम्दानीका रुपमा देखिएको छ ।

Back to top button