कर्णाली प्रदेशमा सर्वोच्चले पुनर्वहाली गरेका तीन सांसदलाई पुनः एमालेद्वारा निलम्बन

सुर्खेत । कर्णाली प्रदेशमा सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका तीन जना प्रदेशसभा सदस्यलाई नेकपा एमाले पुनः निलम्बन गरेको छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्य अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई निलम्बन गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा निलम्बनमा परेका थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेबारीमा हुनुहुन्छ ।

एमाले संसदीय दलले उहाँहरुलाई एक महीनाका लागि निलम्बन गरेको निर्णयसहितको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएपछि निलम्बित भएको छ । प्रदेशसभा सचिवालयले हिजो उहाँहरु निलम्बित भएको सूचना सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन गत वैशाख ३ गते फ्लोरक्रस गरेका प्रकाश ज्वालासहित उहाँहरु निलम्बनमा परेका थिए । तर, जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । ज्वाला भने प्रतिपक्षीमा फर्किसकेकाले एमाले संसदीय दलले कारवाही गरेन ।

Back to top button