कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा छेउ उडान भर्ने क्रममा हेलिकप्टरमाथि गोली प्रहार भएको हो ।

हेलिकप्टरमा राष्ट्रपति इवान ड्यूक रक्षामन्त्री र आन्तरिक मामिला मन्त्रीसँग नर्टे डे सेन्टाडेर प्रान्तकालागि यात्रा गर्न लाग्दा यस्तो आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ । राष्ट्रपतिका प्रवक्ताका अनुसार हमलामा सबै सकुशल रहेका छन् ।

राष्ट्रपति इवान ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिंसा वा आतंवादी हमलाबाट नडराउने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले यस्तो हमला सामना गर्न कोलम्बिया निकै शक्तिशाली रहेको भन्दै हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

स्थानीय पत्रिकालाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ, ‘हेलिकप्टरमा बसेकाहरुले इन्जिनमा केही चिज ठोक्किएको आवाज सुनेका थिए । त्यतिबेला हेलिकप्टर जमिनबाट थोरै उचाईंसम्म मात्र उडेको थियो ।’

Back to top button