युरोकप फुटबल : इटली अपराजित यात्रा कायम राख्दै क्वाटरफाइनलमा प्रवेश

विराटनगर। अपराजित यात्रा कायम राख्दै इटली युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा अष्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै इटली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलको ६७औं मिनेटमा अष्ट्रियाका लागि मार्को अर्नाउटोभिकले गोल गरेपनि अफसाइड भएकाले गोलको मान्यता पाएन ।

खेलको ९५औं मिनेटमा वैकल्पिक फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । उनी ८४औं मिनेटमा मैदान प्रवेश गरेका थिए । यस्तै १०५औं मिनेटमा अर्का वैकल्पिक खेलाडी माटेओ पेसिनाले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे ।

अष्ट्रियाका लागि एकमात्र गोल ११३औं मिनेटमा सासा कलासिसले गरे ।

Back to top button