युरोकप फुटबल : फ्रान्स बाहिरिँदा, स्विट्जरल्याण्ड अन्तिम आठमा प्रवेश

विराटनगर । स्विट्जरल्याण्डसँग पराजित हुँदै साविक उपविजेता फ्रान्स युरोकप फुटबलबाट बाहिरिएको छ । गएराती रोमानियामा भएको प्रि– क्वाटरफाइनल खेलमा फ्रान्स स्विट्जरल्याण्डसँग पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित हुन पुगेको हो । यो सँगै स्विट्जरल्याण्ड अन्तिम आठमा प्रवेश गरेको छ ।

निकै रोमाञ्चक प्रतिष्पर्धा भएको खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा दुवै टीम ३–३ गोलको बराबरीमा रोकिए । अन्ततः खेल निर्णयका लागि पेनाल्टी सुटआउटमा धकेलियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मार्न सफल भएको हो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके। एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाउन सफल भए। स्विट्जरल्यान्डका लागि मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे।

निर्धारीत ९० मिनेटको खेलको शुरुवातीको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १–० गोलको अग्रता दिलाएका थिए। खेलको ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गर्ने अवसर पायो। तर रिकार्डो रोड्रिगेजले गोल गर्न सकेनन्।

लगत्तै ५७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २–१ को अग्रता बनायो।

खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा केभिनको पासमा स्विट्जरल्यान्डका सेफेरोभिचले हेड मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्‍याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गर्दै खेललाई ३–३ गोलको बराबरी मा पु¥याए । निर्धारीत ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा दुवै टीमले गोल गर्न नसकेपछि खेल निर्णयका लागि पेनाल्टि सुटआउटमा पुगेको हो ।

योसँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ। अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। क्रोएसियालाई ५–३ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरेको हो ।

Back to top button