कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता नहुने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेका सांसदलाई कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने छुट नभएको र हस्ताक्षर गर्नु भनेको पार्टी फुटको घोषणा भएको बताउनुभयो ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ जना सांसदलाई सोमबार साँझ ५ बजेसम्ममा हस्ताक्षर फिर्ता लिन पार्टी बैठकले निर्णयसमेत गरेकोले त्यो समयावधिभित्र हस्ताक्षर फिर्ता लिन उहाँले निर्देशन दिनु भएको छ ।

ओलीले हिजो माधव नेपाललाई फोन गरेर भेटन आग्रह गर्दा नमानेको बताउनु भयो । उहाँसँग २५–२५ मिनेट भएको कुराकानीको क्रममा भेट्न भन्दा नमानेको ओलीले बताउनुभयो ।

Back to top button