राज्यमन्त्री शर्माद्वारा राजिनामा, लुम्बिनी प्रदेश सरकार अल्पमतमा

काठमाडौं । जनता समाजवादी पार्टीकी सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजिनामा दिनुभएको छ । उहाँले राजिनामा दिएसँगै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।जसपा महन्थ ठाकुर पक्षबाट शर्मा वैशाख ६ गते मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त हुनुभएको थियो ।

शर्माले जसपाले मुख्यमन्त्री पोखरेल नेतृत्वमा रहेको सरकारको समर्थनमा नरहेकोले पार्टीको समर्थन र सहयोग विना सरकारमा रही निरन्तरता दिन नसक्ने भन्दै राजिनामा दिनुभएको छ ।

लुम्बिनी प्रदेशमा जसपाको ६ जना प्रदेशसभा सदस्यमध्ये ४ जना ठाकुर पक्षमा र २ जना यादव पक्षमा विभाजित हुनुभएको थियो । अब शर्माले राजिनामा दिएसँगै जसपाका समान ३–३ जना प्रदेशसभा सदस्य ठाकुर र यादव पक्षमा विभाजित हुनुभएको हो ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा शर्मासहित मुख्यमन्त्री पोखरेलको पक्षमा ४२ जना प्रदेशसभा सदस्यको समर्थन थियो तर शर्माको राजिनामासँगै अब सरकार अल्पमतमा परेको छ । प्रदेशसभामा एमालेको ३८ जना प्रदेशसभा सदस्य छन् ।

Back to top button